बैंकबाट कम ब्याजमा पैसा लिइ सहकारीबाट बढी ब्याज खानेहरुले आन्दोलन गरेः मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले बैंकबाट कम ब्याजमा रकम लिएर बढी ब्याज खान सहकारीमा पैसा राख्नेहरुले आन्दोलन गरेको आरोप लगाएका छन्
बुधवार काठमाडौंमा सहकारी पत्रकार समाजको १४ औं स्थापना दिवस कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन । उनले बढी ब्याज खान खोज्नेहरुले नै सहरकारी पीडितहरुको अगुवाई गरेर आन्दोलन गरिरहेको उल्लेख गरे ।
मन्त्री अधिकारीले सहकारी सबै खराब हुन् भनेर जनतालाई बुझाइएको भन्दै यसलाई चिर्न आवश्यक रहेको बताए । उनले कसैले स्वार्थ पूरा गर्न लागेका सहकारी देखाएर सबै सहकारी नराम्रो हो भन्ने भाष्य बनाउन खोजिएको दाबी गरे ।
मन्त्री अधिकारीले सरकारले सहकारीका समस्या समाधानको लागि सहकारी अगुवा र पीडित जनताका सुझाव लिएर काम अघि बढाइरहेको बताए । उनले सरकारले आन्दोलन सहकारी पीडितसँग भएको ८ बुँदे सहमतिमा सरकारले ७ वटा काम थालनी गरेको बताए ।
मन्त्री अधिकारीले सहकारीको समस्या समाधान गर्न पीडित वचतकर्ता र सहकारीको अगुवासँग छलफल सरकारले गरिरहेको बताए । उनले सहमति भएकामध्ये आयोग गठन गर्ने काम सरकारले गरेको भन्दै सरकारले आयोग गठन गर्दा अर्को गठन गर्न कानूनी रुपमा समस्या भएको बताए ।
मन्त्री अधिकारीले सरकारले गठन गरेको सहकारी समस्या समाधान गर्ने समितिमा आन्दोलनरतले छुट्टै प्रतिनिधि खोजेको भन्दै ३१ हजार सहकारीका प्रतिनिधि राख्न नसकिने बताए ।
उनले भने ,‘सरकारले सहकारीका समस्या समाधानको लागि सहकारी अगुवा र पीडित जनताका सुझाव लिएर काम अघि बढाइरहेका छौं । केही सहकारीहरु मिलेर आन्दोलन गर्नुभयो । मन्त्री भएर आएपछि वार्तामा बसाैं । वार्तामा ८ बुँदे सहमति भयो । ८ मध्ये ७ वटा बुँदामा एकहप्तामा काम शुरु गर्यौं । एउटा बुँदामा काम गरेका छैनौं । संसदले संसदीय समिति बनाएर छानविन गरिरहेको छ । समस्यामा आएका सहकारीका समस्या समाधानको लागि समस्याग्रस्त सहकारी समिति बनाएका छौं । छानविन समितिको सुझाव अनुसार सरकारले काम गर्छ तर फेरि आन्दोलन भइरहेको छ । सहकारीहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघ छ । त्यहाँबाट समस्याको समस्या लिएर आउँदा एकरुपता हुन्छ । अहिले मैले के देख्छु भने सहकारीमा एउटै प्रवृत्तिमा मानिसहरु छैनन् । साना रकम जम्मा गर्ने सहकारी वचतकर्ताहरु वास्तविक सहकारी पीडित हुनुहुन्छ । एकथरी आफूसँग धेरै भएको सम्पत्ति सहकारीमा राख्ने र अर्को थरी बैंकबाट कम ब्याजमा पैसा लिने र सहकारीमा बढी ब्याजमा राख्नेबीचको मुनाफा खाइराख्ने त्यस्ता खाले पनि छन् । अहिले सहकारीमा आन्दोलन गर्नेहरु त्यस्तै मात्रै छन् । आन्दोलनको नेतृत्व गर्नेहरुले पीडितहरुसँग फाइदा लिन पनि पाउने भए । अर्को थरी उद्देश्य पूरा छ भन्नेछन् ।’
मन्त्री अधिकारीले सहकारीमा अहिलेको समस्या आउनु भन्दा पहिला नै ७ वटा भन्दा बढी सहरकारीहरुमा समस्या परेको भन्दै आफू मन्त्री भएर आएपछि जम्मा २ वटा सहकारी संस्था मात्रै समस्याग्रस्त घोषणा गरेको बताए । उनले सरकारले ऋण असुली न्यायाधिकरण, कर्जा सूचना केन्द्रका विषयमा काम गरिरहेको बताए ।