पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रति किलोमिटर ३७ डलर मूल्य घटाइएको छ ।
निगमले तय गरेको पेट्रोल र डिजेलको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १६० रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५१ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १६२ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५३ रूपैयाँ पर्नेछ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्।
यो क्षेत्रमा अब पेट्रोलको भाउ १६३ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५४ रूपैयाँ पर्नेछ।
आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन। आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ।