कामपा वडा ८ एवं नेपाल भारत मैत्री अस्पतालको सहयोगमा राममाया कपालीलाई पुनर्जीवन प्रदान
काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा ८ तथा नेपाल भारत मैत्री अस्पतालको पहलमा राममाया कपालीलाई पुनर्जीवन प्रदान गरिएको छ ।
गत वर्ष २०८० साल असोज २३ गते पशुपतिको जीर्ण धर्मशालाबाट मरणासन्न अवस्थामा कामपा ८ का वडा अध्यक्ष आशामान संगत तथा नेपाल भारत मैत्री अस्पताका डाइरेक्टर डा विकास रौनियार सहित स्थानीयहरूको पहलमा विरामीलाई अस्पताल लगिएको थियो ।
आज करिव ३२६ दिनसम्म अस्पतालले सबै उपचार नि:शुक्ल रूपमा गरेकोमा धन्यवाद ब्यक्त गर्ने कुनै शब्द नभएको बताउदैँ वडाअध्यक्ष आशामान संगतले जनभावना अनुसार अगाडि बढ्न अस्पताललाई आग्रह गर्नुभयो ।
उहाँले आज मात्र नभएर हिजो पनि नेपाल भारत मैत्री अस्पताल समुदायको अस्पतालका रूपमा स्थापित हुदैँ आईरहेको बताउनुभयो ।
उहाँले कामपा ८ मा नै रहेको शान्ति सेवा गृहलाई बिरामीको थप सहयोग एवं व्यवस्थापनका लागि हस्तान्तरण गरिएको बताउनुभयो ।
कार्यक्रममा उक्त कार्यमा अतुलनीय योगदान पुर्याउने नेपाल भारत मैत्री अस्पताल सहित त्यहाँ कार्यरत चिकित्सक एवं स्वास्थ्य कर्मीहरूलाई सम्मान गरिएको थियो । सोही कार्यक्रममा पत्रकारद्वय राजेेन्द्र बस्नेत र सुजन तिमल्सिनालाई सम्मान गरिएको थियो ।
शान्ति सेवा गृहका म्यानेजिङ डिरेक्टर विजेन्द्र कुवँरलाई वडा अध्यक्ष संगतले थप उपचार एवं स्वास्थ्य उपचार सहित ब्यवस्थापनका लागि बिरामी हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बिरामीको उपचारका लागि हालसम्म करिब ३५ लाख रूपैयाँ अस्पतालले खर्चगरेको जनाएको छ । नेपाल भारत मैत्री अस्पताल स्थानीय कार्य एवं सहकार्यमा अग्रसर रहदैँ स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको अस्पताल हो ।
कार्यक्रममा वडाअध्यक्ष आशामान संगत, गौशाला प्रहरी वृत्तका प्रमुख केशव थेवे, वडासदस्यहरू सरस्वती राज भण्डारी, सलोनी ओडारी, राजलक्ष्मी भुसाल, अस्पतालमा विभिन्न तह र तप्कामा कार्यरत स्वास्थ्यकर्मीहरू विभिन्न संघ संस्थाका प्रतिनिधिहरू सहित स्थानीयहरूको सहभागिता रहेको थियो ।