नेपालमा जिकर गाडी वितरणका लागि जिकर र पायोनियर मोटो कर्पबीच सम्झौता
काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता गिली ग्रुप अन्तर्गतको प्रिमियम लक्जरी ईभी ब्रान्ड जिकरले नेपालमा जिकरका गाडीहरू वितरणका लागि नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटोकर्प प्रालिसँग औपचारिक सम्झौता सम्पन्न गरेको छ ।
यस सम्बन्धी हस्ताक्षर समारोह चीनको हाङजोउमा गत भदौ ५ मा सम्पन्न भएको पायोनियर मोटोकर्पले जानकारी दिएको छ । हस्ताक्षर समारोहमा निर्माता पक्षबाट जिकर युरोएसियाका महाप्रबन्धक जेफ काओ, जिकर साउथका क्षेत्रीय निर्देशक फेलिक्स हु र जिकर युरो एसियाका क्षेत्रीय मार्केटिङ निर्देशक रान्डोल लेङ उपस्थित थिए । नेपालबाट पायोनियर मोटोकर्प प्रालिको प्रतिनिधित्व गर्दै प्रबन्ध निर्देशक सन्दीप कुमार शारडा र निर्देशक गौरव शारडा उपस्थित थिए ।
सम्झौता समारोहको सुरुवातमा पायोनियर मोटोकर्प र जिकर दुवै कम्पनीका प्रतिनिधिद्वारा आपसी सम्मान र साझा दृष्टिकोणलाई उजागर गर्ने स्वागत मन्तव्य राखिएका थिए । साथै दुई कम्पनीबिच आपसी सहकार्यद्वारा विद्युतीय प्रविधि तथा गाडीको प्रबर्द्धन गर्ने प्रतिबद्धतासहित नेपालमा वितरणका लागि सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको थियो ।
अटोमोटिभ तथा मोबिलिटी क्षेत्रमा एक नयाँ अध्याय र एक महत्वपूर्ण अलायन्स सुरुवातको उत्सवस्वरूप ‘स्याम्पेन टोस्ट’ सहित समारोहको अन्त्य गरिएको थियो । यस सहकार्यसँगै नेपाली ईभी पारखी तथा ग्राहकहरूले नेपाल लक्षित उत्कृष्ट मूल्य र गुणस्तरीय सेवासहित अत्याधुनिक गाडी खरिद गर्न र अनुभव लिन सक्ने कम्पनीको भनाइ छ ।
पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारडाले चीनको प्रिमियम ईभी ब्रान्ड जिकरको नेपालका लागि एक मात्र वितरक (एक्सक्लुसिभ डिस्ट्रिब्युटर) को रूपमा नियुक्त भएकोमा उत्साहित भएको बताए ।
यस अनुसार आजबाट सुरू भएको नाडा अटो शोको क्रममा जिकरको पहिलो मोडल औपचारिक रूपमा नेपाली ग्राहकसामु ल्याउने जानकारी समेत उनले दिए । यसका लागि कम्पनीको स्टल भिजिट गर्नका लागि ग्राहक महानुभाव तथा सम्पूर्ण ईभी पारखीहरूलाई आमन्त्रण गरेको समेत उनले बताए ।
पायोनियर मोटोकर्पले यही नाडा अटो सो २०२४ मा प्रिमियम अर्वान लक्जरी एसयूभी जिकर एक्स सार्वजनिक गरेको छ । नयाँ जिकर एक्स, परिष्कृत सहरी जीवनशैलीको लागि डिजाइन गरिएको एक कम्प्याक्ट लक्जरी एसयूभी हो । जिकर एक्स नयाँ ठाउँ, नयाँ भूभाग तथा नयाँ वातावरण अनुभव गर्न खोज्ने व्यक्ति तथा परिवारहरूका लागि उत्तम एसयूभी हो ।
सन् २०१४ मा स्थापित पायोनियर मोटोकर्प शारडा ग्रुपको सहायक कम्पनी हो ।