डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार कृष्ण रिजाललाई
काठमाडौं । यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार-२०८१ नयाँ पत्रिका दैनिकका आर्थिक ब्यूरो प्रमुख कृष्ण रिजाललाई प्रदान गरिने भएको छ।
डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको एक लाख रुपैयाँ राशीको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष रिजाललाई प्रदान गरिने भएको हो।
पुरस्कार निर्णायक समितिले डा. हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापित पुरस्कार डा. पन्तको नवौं वार्षिक पुण्य स्मृति दिवस पारेर २०८१ भदौ २१ गते शुक्रबार प्रदान गरिने छ।
देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरणका लागि समर्पित लघुवित्तका प्रथम प्रबर्द्धक डा. पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो।
डा. हरिहरदेव पन्त फाउन्डेशनले प्रत्येक वर्ष एक जना उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ। फाउन्डेसनले पहिलो पटक नेपाल आर्थिक पत्रकार समाज (सेजन)लाई सम्मान गरेको थियो। त्यसयता पुरस्कार सेजनका पूर्वअध्यक्ष गोकर्ण अवस्थी, विष्णु बेल्वासे, एलिजा उप्रेती, ममता थापा, बिजयराज खनाल तथा यज्ञ बञ्जाडेलाई प्रदान गरिसकिएको छ।
आर्थिक क्षेत्रको विकासका लागि पत्रकारिता जगतले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमध्यम तथा लेखनमार्फत आम जनस्तरलाई सूसुचित गराउन खेलेको महत्त्वपूर्ण योगदानको कदर गर्दै फाउन्डेसनले पुरस्कार प्रदान गर्दै आएको छ।
पुरस्कारका लागि छनोट भएका रिजाल विगत एक दशकभन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका छन्।