मोबाइल बैकिङ मार्फत पौने ४ खर्बको कारोबार, ६० प्रतिशतले बढ्यो
काठमाडौं । नेपालमा पछिल्लो समय डिजिटल कारोबार र भुक्तानी दुवैमा निरन्तर बढोत्तरी हुँदै गइरहेको छ । दैनिक रूपमा प्रयोगकर्ताका साथै बैकिङ कारोबारका डिजिटल उपकरणहरू पनि थपिँदै जाँदा कारोबार र भुक्तानी दुवैमा सुधार आएको हो । इन्टरनेट प्रयोगकर्ताको पहुँच बढेसँगै डिजिटल कारोबारमा पनि बढोत्तरी आएको राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो एक वर्षमा मोबाइल बैकिङ मार्फत हुने भुक्तानी ६० प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको गत आर्थिक वर्षको तथ्यांकले यस्तो देखाएको हो ।
गत आर्थिक वर्षमा मोबाइल बैकिङ मार्फत ३ खर्ब ७३ अर्ब ९७ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६०.२० प्रतिशत धेरै हो । अघिल्लो आवमा भने २ खर्ब ३३ अर्ब ४४ करोड ६० लाख रुपैयाँ बराबरको कारोबार मोबाइल बैकिङ मार्फत भएको थियो ।
गत आर्थिक वर्षमा कुल ४ करोड ५६ लाख ६९ हजार ३ सय १ पटक मोबाइल बैकिङ मार्फत भुक्तानी भएको छ । हाल मोबाइल बैकिङ प्रयोगकर्ताको संख्या भने २ करोड ४६ लाख ४८ हजार ८४६ पुगेको छ । अघिलो आर्थिक वर्षको तुलनामा ३२ लाख ८४ हजार ८५७ जना मोबाइल बैकिङ प्रयोगकर्ताहरु थपिएका हुन् ।
राष्ट्र बैंकका अनुसार नगदसहित आरजिटिएस, एटिएम र डिजिटल कारोबारका लागि कनेट आइपिएस, इ–कर्मश, इन्टरनेट बैंकिङ्ग , मोबाइल बैंकिङ्ग, वालेट, क्युआर पेमेन्ट, पोन्ट अफ सेल्स (पिएसओ) का प्रयोगकर्ता बढेको पाइन्छ । राष्ट्र बैंकका अनुसार क्विक रेस्पोन्स (क्युआर), मोबाइल बैंकिङ्ग, वालेट लगायतका उपकरणमा सर्वसाधारणको बढी नै आकर्षण बढेको हो ।
गत आवको १२ महिनामा क्यूआर कोड मार्फत ६१ अर्ब ७३ करोड ७० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । क्यूआर पेमेन्ट्स एक वर्षमै १०५ प्रतिशत वृद्धि भएको हो । अघिल्लो आवको अन्त्यसम्म भने ३० अर्ब १४ करोड ८० लाख रुपैयाँ भुक्तानी भएको थियो । गत आर्थिक वर्षभरीमा २ करोड ८ लाख २५ हजार ६१५ पटक क्यूआर कोड मार्फत कारोबार भएको छ ।
यस्तै वालेट मार्फत गत आर्थिक वर्षमा ३१ अर्ब ३० करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सो अवधिमा ३ करोड १२ लाख ६९ हजार २८६ पटक वालेट मार्फत भुक्तानी भएको हो । अघिल्लो आर्थिक वर्षमा वालेट मार्फत २० अर्ब ३२ करोड ६० लाख रुपैयाँ बराबरको भुक्तानी भएको थियो । हाल नेपालमा वालेट प्रयोगकर्ताको संख्या २ करोड ३४ लाख ६१ हजार १०७ पुगेको छ। अघिल्लो आवको तुलनामा भने यस्तो संख्या ४५ लाख १९ हजार ३१४ थपिएको हो ।
गत आर्थिक वर्षमा कनेक्ट आइपिएस मार्फत ६ खर्ब ६६ अर्ब ५८ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, ईलेक्ट्रोनिक चेक क्लियरेन्स (ईसीसी) मार्फत ६ खर्ब ७२ अर्ब ७ करोड ५५ लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ। त्यस्तै रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) मार्फत ६४ खर्ब ५१ अर्ब १६ करोड रुपैयाँ बराबरको भुक्तानी भएका छन् । यता, एटीम कार्ड मार्फत ९१ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
राष्ट्र बैंकका अनुसार डेबिट कार्ड मार्फत ९५ अर्ब २६ करोड र क्रेडिट कार्ड मार्फत २ अर्ब ७ करोड ३० लाख रुपैयाँ बराबरको भुक्तानी भएको छ । यता, इन्टरनेट बैंकिङ्ग मार्फत भने १७ अर्ब ७३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।