सेयर बजारबाट साउनमा ४ अर्ब २३ करोड रुपैयाँ भन्दा धेरैको पुँजीगत लाभकर संकलन

काठमाडौं । नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो महिना अर्थात, साउनमा ४ अर्ब २३ करोड रुपैयाँ भन्दा धेरैको पुँजीगत लाभकर संकलन गरेको छ । साउन महिनामा जम्मा २२ दिन मात्र कारोबार भएको छ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले उपलब्ध गराएको तथ्यांक अनुसार जम्मा २२ कारोबार दिनमा सरकारले ४ अर्ब २३ करोड ७८ लाख ६१ हजार ८०२ रुपैयाँ क्यापिटल गेन ट्याक्स संकलन गरेको छ ।
यस आधारमा सेयर बजार खुलेको दिनमा सरकारलाई औसत १९ करोड २६ लाख ३० हजार आम्दानी भएको छ । सरकारलाई १ कारोबार दिनमा मात्रै औसत १९ करोड भन्दा धेरैको आम्दानी भएको छ । बजार क्रमशः बढ्दै गएको अवस्थामा राज्यलाई थप आम्दानी हुने देखिएको छ ।