११.६४ प्रतिशतले बढ्यो घरजग्गा कारोबार, राजस्वमा पनि सुधार
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८१ को पहिलो महिना अर्थात् साउनमा देशभर ४३ हजार आठ सय ३५ संख्यामा घरजग्गा कारोबार भएको छ ।
यो गत आर्थिक वर्ष २०८०/८१ को सोही महिनाको तुलनामा ११.६४ प्रतिशतले बढी हो । भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्याङ्क अनुसार गत वर्ष साउनमा देशभर ३९ हजार दुई सय ६३ संख्यामा कारोबार भएको थियो ।
विभागको तथ्याङ्कअनुसार समग्र कित्ताकाट र कारोबारको तुलनामा दुवैको लिखत पारित (सोही महिनामा मात्रै नयाँ भएको कारोबार वा कित्ताकाट) बढेको छ । समग्र कारोबार र कित्ताकाटमा नामसारी, संशोधन, हाल साविक, जग्गा बाँडफाँटलगायत हुन्छ । यसरी हेर्दा कित्ताकाट र कारोबारको लिखत पारित भने बढेको छ ।
नेपाल घरजग्गा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीका अनुसार अघिल्लो दुई आर्थिक वर्षका साउन महिनाको तुलनामा यस वर्षको साउनमा बढेको घरजग्गा कारोबार बढेको देखिएको छ । घरजग्गा कारोबारका लागि साउन महिना ‘अफसिजन’ भएतापनि कारोबार बढेको उनी बताउछन् ।
‘साउन महिना अफसिजन भए पनि अघिल्लो बर्षको तुलनामा यस बर्षमा कारोबार बढ्यो, तर २०८१ असारको तुलनामा भने कारोबार, कित्ताकाट राजस्व घट्यो,’ उनले भने । २०८१ असारमा देशभरको मालपोत कार्यालयबाट ४६ हजार १७९ संख्यामा कारोबार भएको थियो ।
राजस्व ३१ प्रतिशतले बढ्यो
२०८० को साउन महिनामा कारोबारमा आएको सुधारसँगै राजस्व संकलन पनि उल्लेख्य वृद्धि भएको छ । साउनमा सरकारलाई घरजग्गा कारोबारबाट ३ अर्ब ८३ करोड ५० लाख ८२ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ ।
विभागको अनुसार यो गत बर्ष (२०८०) को साउन महिनाको तुलनामा ३१.७७ प्रतिशतले बढी हो । गत साउनमा २ अर्ब ९१ करोड ४ लाख २७ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिष्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।
साउनमा सरकारले सेवाकरवापत २६ करोड ६८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । त्यसैगरी, रजिष्ट्रेशन दस्तुरवापत २ अर्ब ५५ करोड १९ लाख ५१ हजार रुपैयाँ कर उठाएको छ ।
देशभरका मालपोत कार्यालयहरुले साउनमा पुँजीगत लाभरवापत १ अर्ब ३४ कारेड ६९ लाख ४८ हजार रुपैयाँ र मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्कवापत ३ करोड ६० लाख ६१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।