चालु आर्थिक बर्षको प्रगति कम्तीमा ८० प्रतिशत हुने गरी काम गर्नु पर्छ — प्रमुख प्रशासकीय अधिकृत, परियार
विभागीय प्रमुखहरुसँग प्रमुख प्रशासकीय अधिकृत परियारको कार्य सम्पादन सम्झौता
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले विभाग, आयोजना, एकाई सचिवालयका विचमा कार्य सम्पादन सम्झौता गरेका छन् ।
काठमाडौँ प्लाजाको सभा कक्षमा आर्थिक बर्ष २०८०/०८१ को प्रारम्भिक समीक्षा गर्दै चालु आर्थिक बर्षका लागि तर्जुमा भएका योजना कार्यान्वयनको प्रतिवद्धतासहित सम्झौता भएको हो ।
गएको असार महिनामा सम्पन्न, नगर सभाको १५ औँ अधिवेशनबाट स्वीकृत वार्षिक नीति, नीति कार्यान्वयनका लागि तर्जुमा गरिएको बजेट तथा कार्यक्रमलाई प्रभावकारी, सहभागितामूलक, लागतप्रभावी रुपमा कार्यान्वयन गर्नु सम्झौताको मुख्य उद्देश्य हो । मुख्य जिम्मेवारी, सहायक जिम्मेवारी, समयावधि, अनुगमन सूचकसहितको कार्ययोजना कार्यान्वयन गर्नु यसको अर्को मुख्य काम हो । सेवा प्रवाह चुस्त हुनु, प्रशासनिक सुधारका संकेत महसुस गर्न पाउनु, आन्तरिक समन्वय बलियो हुनु, कार्य सम्पादनका लागि स्वच्छ प्रतिस्पर्धात्मक वातावरण तयार हुनु यसले सम्झौताले कल्पना गरेको अवस्था हो ।
सम्झौताबमोजिम अधिकारीहरुले लक्ष्यको कम्तीमा ८० प्रतिशत प्रगति हासिल गर्नुपर्नेछ ।
सम्झौता पत्रमा हस्ताक्षर गरेपछि प्रमुख प्रशासकीय अधिकृत परियारले, वितेका ५ वर्षको तुलनामा गएको वर्ष पुँजीगत खर्च बढेको बताउँदै राजस्व र खर्च बढाउने तथा वेरुजु घटाउने कामलाई मुख्य मन्त्र मानेर काम गर्नु पर्ने धारणा रखे ।
सभाबाट स्वीकृत भएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि नगर प्रमुखले ७ दिनभित्र प्रमुख प्रशासकीय अधिकृतलाई र प्रमुख प्रशासकीय अधिकृतले १५ दिनभित्र बिभागीय प्रमुखहरुलाई अधिकार प्रत्यायोजन गर्नु पर्ने कानुनी व्यवस्था छ । यसका आधारमा विभागीय प्रमुखहरुलाई प्रमुख प्रशासकीय अधिकृतबाट आज नै अधिकार प्रत्यायोजन भएको प्रशासन विभागका प्रमुख नमराज ढकालले जानकारी दिए ।
कार्य सम्पादन सम्झौताले कार्ययोजनामा उल्लेख सूचकका आधारमा अनुगमन गरेर लक्षित कार्यक्रमको प्रगति तत्काल थाहा पाउन सकिन्छ । कार्यक्रम कार्यान्वयनमा समस्या देखिए समयमा नै सुधार गर्न सकिने सम्भावना रहन्छ । यस्तै अधिकार प्रत्यायोजनले विभागीय कार्यक्रम कार्यान्वयनमा लैजान आफ्नै तहबाट निर्णय टुङ्ग्याउन सकिन्छ, ढकालले धारणा राखे ।