युवा विकास सहकारीले भन्यो– उपचार खर्च अभावमा स्थापितको मृत्यु भएको होइन
काठमाडौँ । युवा विकास बहुउद्देश्यीय सहकारी संस्थाले उपचार खर्चकै अभावमा आफ्नो संस्थाका सदस्य राजेन्द्र स्थापितको मृत्यु भएको भनेर चलाइएको हल्ला निराधार रहेको जनाएको छ ।
सहकारी संस्थामा जम्मा गरेको रकम फिर्ता नदिँदा अस्पतालले मागेको धरौटीबापतको रकम ५ लाख रुपैयाँ जम्मा गर्न नसक्दा उपचार नपाएर स्थापितको मृत्यु भएको भनी विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन तथा प्रसारण भएका थिए । तर, सहकारीले भने अस्पतालले कुनै धरौटी रकम नमागेको र उपचार खर्चकै अभावमा मृत्यु भएको समाचार गलत भएको दाबी गरेको हो ।
सहकारीका अध्यक्ष किसन राईले विज्ञप्ति जारी गर्दै बिरामीको परिवारले पनि उपचारका लागि यति रकम चाहियो भनेर माग नगरेको बताए । बरू अस्पतालमा उपचार गराउँदा लागेको सबै रकम आफैँले तिरेको उनको दाबी छ । सञ्चारमाध्यमहरूलाई उनले वीर अस्पतालमा राजेन्द्र स्थापितको नाममा भुक्तानी गरेका बिल तथा भौचरहरूसमेत उपलब्ध गराएका छन् ।
‘वीर अस्पतालमा हाम्रो संस्थाका सदस्यका उपचारका लागि ५ लाख रुपैयाँ जम्मा गर्ने अवस्था नभएपछि पीडित सदस्य राजेन्द्र स्थापितको मृत्यु भएको भन्ने गलत सूचनाको पछि नलागिदिनुहुन विनम्र अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘उपचारका क्रममा अस्पतालले स्थापितको परिवारसँग कुनै रकम धरौटी राख्न आग्रह नगरेको र परिवारले पनि संस्थामा सो रकम उपलब्ध गराउन आग्रह नगरेको प्रष्ट पार्न चाहन्छौं ।’ वीर जस्तो सरकारी र सरल अस्पतालमा उपचारका लागि एकै पटक लाखौँ रुपैयाँ धरौटी नमाग्ने दाबी गर्दै सहकारीले स्थापितको ४ दिनको उपचार खर्च १ लाख रुपैयाँ पनि ननाघेको जनाएको छ ।
स्थापित बिरामी भएपछि उपचारका लागि अस्पताल लैजान आफैँले सुझाव दिएको भन्दै अध्यक्ष राईले भर्ना भएको दोस्रो दिन नैै चिकित्सकले बिमारीलाई घर लैजान भने पनि आफैँले अनुरोध गरेर आइसियुमा भर्ना गरेर उपचार गराइएको दाबी गरेका छन् । स्थापित अस्पताल भर्ना भएदेखि नै सहकारीका अध्यक्ष स्वयंसहित कर्मचारीहरू अस्पतालमै बसेर आवश्यक उपचारको प्रबन्ध मिलाएको संस्थाको दाबी छ । स्थापितलाई भर्ना गरेदेखि नै संस्थाको कोही न कोही व्यक्ति अस्पतालमा रहेको भन्दै त्यसको प्रमाणका लागि अस्पतालको सिसिटिभी फुटेज हेर्न सकिनेसमेत अध्यक्ष राईले बताए ।
बिरामी भर्ना भएको २ दिनसम्म सस्थाका अध्यक्ष आफैँ उपचारमा खटेको र बाँकी दिनमा संस्थाकै तर्फबाट एक जना कुरुवा राखेर अध्यक्ष राई बिहान बेलुका अस्पताल पुगेर उपचारको अपडेट लिएको दाबी पनि संस्थाको छ । सुरुको दिन विभिन्न जाँच र औषधि खर्च सहकारीका अध्यक्ष राईले नै भुक्तानी गरेको र अन्य आवश्यक परेको रकमसमेत स्थापितकी श्रीमती दातृबाबा बज्राचार्यको नेपाल बैंकमा रहेको खातामा पटक–पटक रकमान्तर गरेको कागजात, भौचर तथा बिलहरू सुरक्षित रहेको संस्थाले जनाएको छ ।
पछिल्लो समय सहकारी संस्थाहरूमा देखिएको संकट युवा विकास सहकारीमा पनि परेको तर आफूहरू नभागी बचतकर्ता तथा सदस्यहरूसँग निरन्तर सम्पर्क र संवाद गरी समस्यामा परेका सदस्यहरूलाई आंशिक रूपमा सकेको बचत रकम फिर्ता गर्दै आएको संस्थाले जनाएको छ ।
यस्तो अवस्थामा सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा फैलाइएको यस्तो निराधार र भ्रामक समाचारले संस्थाका सदस्यहरूमा थप भ्रम सिर्जना गरी सहकारीलाई नै अप्ठ्यारोमा पार्न सक्नेप्रति चिन्ता बढेको अध्यक्ष राईले बताए ।
केही स्वार्थ समूहको उक्साहटमा लागेर भ्रामक सूचना फैलाएर संस्थालाई थप समस्यामा लैजाने प्रयास गरिएको भन्दै अध्यक्ष राईले यसबाट उत्पन्न हुने समस्याको जिम्मेवारी गलत अभियान चलाउनेहरूले नै लिनुपर्ने उनले बताएका छन् । यस्तै, गलत सूचना फैलाउनेहरूविरुद्ध कानुनी उपचारको बाटो खोज्न बाध्य हुनेसमेत उनको चेतावनी छ ।
यदि संस्थाले धरौटी राख्न पैसा नदिएकै कारण अस्पतालले उपचार नगरी बिरामीको मृत्यु भएको पुष्टि भए कानुनी कारबाही भोग्नसमेत तयार रहेको सहकारी संस्थाले जनाएको छ । मृतक स्थापितको काजकिरिया खर्च बेहोर्नुका साथै निजको बचत रकम पहिलो प्राथमिकतामा राखी फिर्ता गर्ने प्रतिबद्धता पनि संस्थाले जनाएको छ ।