सन्तानलाई सम्पदा र संस्कृति हस्तान्तरण गर्नुपर्छ, यसका लागि अभिलेखन चाहिएको छ — संयोजक, संगत
सम्युवामा आवद्ध स्वयमसेवकले गरेको कामको प्रशंशा
काठमाडौँ । सन्तानलाई हस्तान्तरण गर्नु पर्ने मुख्य सम्पत्ति भनेको संस्कृति र सम्पदाको यथास्थिति हो । यसलाई दुरुस्त हस्तान्तरण गर्न अभिलेखन चाहिएको छ । काठमाडौँ महानगरपालिका सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत भन्नुहुन्छ, ‘कामको भार गहन छ, महसुस गरेर सञ्चालन गर्नुपर्छ ।’
महानगरपालिकाले युवा र बालबालिकाहरुलाई मौलिक सम्पदा र संस्कृतिका बारेमा अनुभूति गराउन तथा प्रवर्धनात्मक कार्यक्रम चलाउन सम्पदामा युवा र बालबालिका ‘सम्युवा’ कार्यक्रमका सञ्चालन गरेको छ । कार्यक्रममा आवद्ध स्वयमसेवकले अहिलेसम्म गरेका कामको समीक्षाका लागि आयोजना गरिएको कार्यक्रममा संयोजक संगतले यस्तो धारणा राखेका हुन ।
महानगरपालिकाले स्वयमसेवकका रुपमा काम गर्न माग गरेको आवेदनबाट ४३७ जनाले फाराम भरेका थिए । सर्टलिष्टमा २४७ जना छानिए । उनीहरुमध्ये अन्तरर्वार्तामा १६५ जना उपस्थित भएका थिए । अन्तर्वार्ताबाट ४५ जना सम्युवा कार्यक्रमका लागि र १ सय जना वाबा कार्यक्रमका लागि छानिएका थिए । वावा कार्यक्रमका लागि छानिएका स्वयमसेवक विद्यालयको वातावरणीय क्षेत्रमा र सम्युवाका लागि छानिएका स्वयमसेवक सम्पदा क्षेत्रमा काम गरिरहेका छन् । कार्यक्रमका बारेमा सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिइन ।
सम्युवामा आवद्ध स्वयमसेवकहरुलाई जात्रा पर्व सञ्चालनका समयमा खटाउने गरिएको छ । मूर्त अमूर्त सांस्कृतिक सम्पदाको अध्ययन र अभिलेखन गर्न लगाइएको छ ।
स्वयमसेवकले गरेका कामका विषयमा जानकारी दिँदै महाशाखा प्रमुख सृजुमैयाँ प्रधानले, समुदाय र विद्यालयमा गएर सम्पदाका अन्तर बस्तुका विषय, मौलिकता र सामाजिक व्यवस्थापनमा विषयमा काम भएको जानकारी दिइन ।
स्वयमसेवकको उत्प्रेरणाका लागि कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको थियो । तालिममा स्वयमसेवक र सम्पदा सम्बन्धी चिनारी, स्वयमसेवकको जिम्मेवारी, नेतृत्व विकास, समूहगत कार्यको विकास, आफू उत्प्रेरित हुने र अरुलाई उत्प्रेरित गराउन सक्ने विषयमा ज्ञान, सिप र क्षमताको विकास गरिने पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानको भनाइ छ ।
यो वातावरण, शिक्षा, सम्पदा, सांस्कृतिक, पुरातात्विक र ऐतिहासिक मूर्त अमूर्त सम्पदा, वातावरणीय अवस्था (प्राकृतिक सम्पदा) र यससँग आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध बुझ्ने अवसर हो ।
‘महानगरपालिकाले वि. सं. २०६७ सालमा ४० जना स्वयमसेवकमार्फत सम्युवा कार्यक्रम सञ्चालन थालेको हो । २०७२ सालको भूकम्पको अवधिमा करिब १ सय जना स्वयमसेवकहरु सक्रिय रुपमा काम गरिरहेका थिए । भूकम्पले पु¥याएको क्षति व्यवस्थापनमा उनीहरु सक्रिय थिए । प्रतिकुल अवस्थामा स्वयमसेवकको व्यवस्थापनमा महानगरपालिकालाई कठिन भएपछि यो कार्यक्रम विस्तारै निष्क्रिय हुँदै गएको थियो ।’
पहिलो व्याचका स्वयमसेवक निरोज महर्जनले अनुभव सुनाउँदै भने, ‘यो कार्यक्रमबाट आफूजस्तै जोसिला स्वयमसेवक उत्पादन गर्दै सामाजिक कामका लागि ठूलो सञ्जाल बनाउने लक्ष्य राख्नुपर्छ ।’