सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट बुधवार (आज) पारित भएको छ
आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले उक्त विधेयक प्रतिनिधिसभाको बहुमतले पारित भएको घोषणा गरे ।
त्यसअघि उक्त विधेयकबारे सांसदहरूले आफ्नो धारणा राखेका थिए । त्यसपछि सभामुख घिमिरेले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।
आजको बैठकको प्रारम्भमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सभामुख देवराज घिमिरेसँग समय मागेर समसामयिक विषयमा संसद्लाई सम्बोधन गर्नुभएको थियो । उहाँले शान्तिप्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्ति पक्षधरका लागि खुसीको विषय भएको बताउनुभएको थियो ।
प्रतिनिधि सभाबाट पारित भएको यो विधेयक अब राष्ट्रिय सभामा पेस हुनेछ । राष्ट्रियसभामा छलफल भई त्यहाँबाट पारित भएपछि पुनः प्रतिनिधिसभामा आउँछ । त्यसपछि सभामुखले प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाउनेछन् । राष्ट्रपतिबाट अनुमोदन भएपछि यसले कानुनको रूप लिनेछ। रासस