बंगलादेशमा हिन्दूहरू माथि भएको आक्रमणको कडा भर्त्सना
![Clipboard01 Clipboard01](https://www.arthikpati.com/wp-content/uploads/2024/08/Clipboard01-19-1024x454-1600x700.jpg)
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन नेपाल)ले बंगलादेशमा हालै वैदिक सनातन हिन्दू धर्मावलम्बीमाथि भएको आपराधिक आक्रमण विरुद्ध विरोध गरेको छ ।
इस्कोन नेपालले अमानवीय क्रियाकलापमा संलग्न जोकोहीलाई कडा कारवाही गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरुसँग माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । सनातन धर्मका आस्थाका प्रतीकहरु दुर्गा मन्दिर, शिव मन्दिर, इस्कोन मन्दिर आदिमा आगो लगाइएको, हजारौं भक्तजनहरूमाथि शारीरिक उत्पीडन गरिएको, यी कार्यहरूले धार्मिक सहिष्णुता र मानवाधिकारको गम्भीर अवहेलना गरेको गरेको आन्दोलनकारीहरुको भनाइ छ ।
इस्कोन नेपालले भन्यो, ‘हिन्दू वैदिक सनातन धर्म एक शान्तिपूर्ण र सबै प्राणीहरूको भलाइको कामना गर्न धर्म हो । यसको मूल शिक्षाले ूसर्वे भवन्तु सुखिन: भन्ने आदर्शलाई मान्यता दिन्छ, जसको अर्थ सबै प्राणीहरूको सुख, शान्ति र समृद्धि सुनिश्चित गर्नु हो । यसले सबै धर्मका अनुयायीहरूको सम्मान र सहिष्णुतामा विश्वास राख्छ र हिंसा तथा उग्रवादको कुनै पनि स्वरूपको विरोध गर्दछ ।’
बंगलादेशका जनताले शासकीय व्यवस्था फेर्न स्वत:स्फूर्त आन्दोलन गरेर त्यहाँको राज्यसत्तालाई घुँडा टेकाएको र जसको परिणामस्वरुप प्रधानमन्त्री शेख हसिनाले राजीनामा गरेको भनिएको यस जनप्रर्दशनमा इस्लामिक खोल ओडेका केहि धार्मिक उग्रवादीले घुसपैठ गर्दै हिन्दुहरुमाथि गरेको आक्रमणले समग्र बंगलादेशी जनता तथा धर्मविशेषलाई प्रतिनिधित्व पक्कै पनि नगर्ने भन्ने उनीहरुको मान्यता रहेको बताए ।
इस्कोन नेपालले हिन्दुहरुमाथि हुने यस प्रकारका आक्रमणलाई रोक्न र दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन विश्वभरबाट दबाव सृजना गर्न तथा एकताबद्ध हुन अनुरोध गर्दै यी आक्रमणहरूको कडा निन्दा गर्दै शान्ति र सहिष्णुताका लागि सबैलाई एकताबद्ध हुन अपिल गरेको छ ।