स्वास्थ्य बीमा रकमको दायरा बढाएर ५ लाख पुर्याउने मन्त्री पौडेलको प्रस्ताव
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रालयका प्राथमिकता र कार्ययोजना सार्वजनिक गरेका छन् । सो क्रममा मन्त्री पौडेलले स्वास्थ्य बिमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ पुर्याउन प्रस्ताव गरेका छन् । मन्त्री पौडेलले अनौपचारिक क्षेत्रलाई समेत समेटेर सामाजिक सुरक्षाका सबै कार्यक्रमलाई बिमामा समेट्ने गरी प्रक्रिया अघि बढाउने प्रस्ताव ल्याएका हुन् ।
यस्तै, आमा सुरक्षा कार्यक्रम, सरकारले दिने ८ वटा रोगको उपचार खर्च, विभिन्न खाद्य पदार्थमा सुगर कर लगाएर बिमा रकमको स्रोत सुनिश्चित गर्ने उनले बताएका छन् । आइतबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले स्थानीय तह र प्रदेश सरकारहरुसँगको समन्वयमा पूर्वाधार, जनशक्ति र उपकरणको व्यवस्थापन गर्न एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना लागू गरिने पनि बताए ।
यस्तै, स्वास्थ्य जनशक्तिको हालको अवस्था विश्लेषण गरी आवश्यकता र कार्यदक्षताअनुसार विद्यमान जनशक्तिको समुचित व्यवस्थान र पुनर्वितरण गरिने पनि उनले बताए ।