कारोबार रकम र बजार पूँजीकरणमा बन्यो नयाँ रेकर्ड, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेप्से सूचकले २८०० को मनोबैज्ञानिक प्रतिरोध क्षेत्रलाई पार गरेको छ। आइतबार नेप्से सूचक ९४.५३ अंकले बढेर २८६०.९१ विन्दुमा पुगेको छ।
आइतबार कारोबार रकममा पनि नयाँ रेकर्ड कायम भएको छ। केहि दिन अघि २१ अर्ब ९१ करोडसम्मको कारोबार भएकोमा आइतबार त्यो रेकर्डलाई तोड्दै झण्डै २६ अर्बको शेयर कारोबार भएको छ।
आइतबार २५ अर्ब ७७ करोड ९४ लाख ५३ लाख ५०९ रुपैयाँको ६ करोड ३ लाख २१ हजार ३२३ कित्ता शेयर कारोबार भएको छ।
यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा माइक्रोफाइनान्स, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट उपसमूहको सूचक ४ प्रतिशतभन्दा धेरैले बढेको छ।
यस दिन कारोबारमा आएका ९ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने १७ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा धेरैले बढेको छ।
यता कुथली बुखरी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने युनिलिभर नेपालको ३.८५ प्रतिशत र ओरियन्टल होटलको २.४८ प्रतिशतले घटेको छ।
आइतबार हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब ५२ करोडको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको १ अर्ब १६ करोड र नेपाल इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंकको ६८ करोडको कारोबार भएको छ।
यसैगरी बजार पूँजीकरणमा पनि आइतबार नयाँ रेकर्ड कायम भएको छ। आइतबार कुल बजार पूँजीकरण ४५ खर्ब ४१ अर्ब पुगेको छ। यसअघि ४४ खर्ब ६८ अर्बसम्म बजार पूँजीकरण पुगेको थियो।