ग्लोबल आइएमई लघुवित्तले ४६.८२ प्रतिशतले बढायो नाफा
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा ग्लोबल आइएमई लघुवित्तले १४ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको भन्दा ४६.८२ प्रतिशतले धेरै हो ।
अघिल्लो वर्ष यसले ९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको सञ्चालन नाफा ४६.९१ प्रतिशत र खुद ब्याज आम्दानी ३५.८७ ले बढ्दा यसको नाफामा बढोत्तरी आएको हो ।
हाल यसको चुक्ता पुँजी ६१ करोड ८९ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने ५१ करोड ५१ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी पनि ७ रुपैयाँ ३० पैसाले बढेर २२ रुपैयाँ ८९ पैसा (वार्षिक) भएको छ ।
यसको प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ २४ पैसा छ । ग्लोबल आइएमईको खराब कर्जा पनि ४.३० प्रतिशतबाट घटेर ३.९० प्रतिशतमा झरेको छ ।