मेरो माइक्रोफाइनान्सको नाफामा आकर्षक वृद्धि
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा मेरो माइक्रोफाइनान्सको नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा ३६२.५९ प्रतिशतले बढेर २१ करोड ९५ लाख ७३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्षको यसैअवधिमा यसले ४ करोड ७४ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी १४.०६ प्रतिशतले बढेर ८७ करोड ४८ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।
खुद ब्याज आम्दानी सामान्य बढे पनि इम्पेयरमेन्ट चार्ज घटेकाले खुद नाफामा आकर्षक वृद्धि भएको हो । साथै, सञ्चालन नाफामा पनि आकर्षक बढोत्तरी भएको छ । यसले पनि नाफा बढ्न सहयोग पुर्याएको हो । २०८० असार मसान्तमा १२ करोड ५४ लाख २० हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज २०८१ को असार मसान्तसम्म आइपुग्दा १ करोड ९४ लाख ६९ हजार रुपैयाँ सीमित भएको छ । यता, सञ्चालन नाफा ३५२.७४ प्रतिशतले बढेर ३१ करोड ३१ लाख १७ हजार रुपैयाँ पुगेको छ ।
असार मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब ३२ करोड २० लाख रुपैयाँ छ । यसको वितरणयोग्य नाफा १९ करोड ६२ लाख ३१ हजार रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले १४.८७ प्रतिशत लाभांश वितरण गर्न सक्छ । यसको प्रतिसेयर आम्दानी १६.६३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ भने १६०.५३ रुपैयाँ छ । एनपीएल ७.६८ प्रतिशत कायम भएको छ ।