स्काउटको नयाँ ऐन बनाउन पहल गर्छु : खेलकुदमन्त्री चौधरी

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्काउटको नयाँ ऐन बनाउन पहल गर्ने बताएका छन्। मंगलबार लैनचौरस्थित स्काउटले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।
उनले भने, ‘स्काउट अहिले पनि २०५० सालमा बनेको पुरानो ऐन अनुसार नै चलेको छ। २०७५ सालमा केही ऐन संशोधन भएका छन् र बाँकी ऐन मन्त्रालयमा प्रस्तावित अवस्थामा छन्। अब चाँडै स्काउटको नयाँ ऐन मेरै पालामा आउँछ।’
उनले देश संघीय संरचनामा गइसकेकाले अब स्काउटलाई पनि सोहीअनुसार रूपान्तरण गर्नुपर्नेमा जोड दिए। ‘स्काउटलाई पनि संघीय संरचनाअनुसार देशभर लैजाउनुपर्छ। ‘७५३ वटै स्थानीय तह र सबै नगरपालिका/गाउँपालिकामा स्काउट स्थापना गर्न सकियो भने बालबालिका र युवाहरूमा चरित्र निर्माणमा थप मद्दत मिल्छ।’ उनले भने ।
मन्त्री चौधरीले हाल युवा तथा बालबालिकामा हुनपर्ने सामाजिक संस्कार र नैतिकवान संस्कार विस्तारै खस्किदै गएकोप्रति चिन्ता व्यक्त गरे । उनले भने, ‘अहिले बालबालिका र युवामा सामाजिक संस्कार र नैतिकता कम देखिएको छ। विस्तारै यसमा ह्रास आइरहेको छ। स्काउटले यसमा पहल गर्न जरुरी भइसकेको छ।’
स्काउटले प्राकृतिक प्रकोपमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मन्त्री चौधरीले स्काउटलाई थप चलायमान बनाउन लागि पर्ने बताए। ‘स्काउटले अहिले ७ दशक पार गरिसकेको छ। चाँडै नै शाताब्दी मनाउने मोडमा आइपुगेको छ’, उनले भने, ‘स्काउटको लक्ष्य हासिल गर्न के पहल गर्नुपर्छ‚ म तयार छु।’
उनले स्काउटलाई अन्तराष्ट्रिय जगत्मा चिनाउँदै सबैलाई आ-आफ्नो ठाउँबाट समाजमा असल काम गर्न आग्रह गरे।