उबरमा १ लाख बीवाईडी कार सामेल हुने
काठमाडौं । चर्चित राइड शेयरिङ प्लेटफर्म उबरले आफ्नो फ्लिट सर्भिसमा १ लाख युनिट बीवाईडी कार सामेल गर्ने भएको छ । युरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उबरले बीवाईडीसँग सम्झौता गरेको हो ।
उबर ड्राइभरलाई विशेष मूल्यमा बीवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुविधा दिनसमेत यी दुई कम्पनीबीच सम्झौता भएको छ । साथै, दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रविधिको विकास गर्ने समेत सहमति भएको छ । उबर प्लेटफर्मका लागि उपयोगी हुने गरी बीवाईडीले अटोनोमस प्रविधिका कार विकास गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
चिनियाँ ब्रान्डका ईभीको बढ्दो दबदबा रोक्न युरोप र अमेरिकाले हालै घोषणा गरेको उच्च करका बावजुद उबरसँग भएको यो सम्झौतालाई पश्चिमा मिडियाहरूले निकै अर्थपूर्ण रूपमा लिएका छन् । यो सम्झौताले बीवाईडीको बढ्दो विश्वव्यापी प्रभावलाई कसैले पनि रोक्न नसक्ने पुष्टि गरेको कतिपय मिडियाले टिप्पणीसमेत गरेका छन् ।
बीवाईडीसँगको सहकार्यमा आफ्नो फ्लिट सर्भिसलाई विश्वव्यापी बनाउने उबरले जनाएको छ । मध्यपश्चिम, क्यानाडा, अस्ट्रेलिया र न्युजिल्यान्डमा समेत यो सेवा विस्तार गरिने यी दुई कम्पनीबीच सहमति भएको छ ।