पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा
काठमाडौं । काठमाडौंको नक्सालमा पाँचतारे होटल ‘हिल्टन काठमाडौं’ सञ्चालनमा आएको छ । नेपालको प्रमुख व्यापारिक घराना शंकर समूहको लगानी रहेको यो होटल शुक्रबारदेखि सञ्चालनमा आएको हो ।
यो होटल निर्माण गर्न सन् २०१४ मै सम्झौता भएर नक्सा तयार भएको थियो । तर, २०१६ बाट निर्माण थालिएको थियो । सुरुमा ७ अर्ब २७ करोड रुपैयाँ लगानी योजना बनाइ पनि कोभिड–१९ का कारण निर्माण प्रभावित हुँदा समय र लागत दुवै बढेको शंकर ग्रुपका प्रबन्ध निर्देशक शाहिल अग्रवाल बताउँछन् । परियोजना लागत १ अर्ब १० करोड रुपैयाँले बढेर ८ अर्ब ३५ करोड पुगेको उनले बताए ।
हिल्टन संसारको सबैभन्दा ठूलो होटल चेनमध्ये पर्छ । उसले विभिन्न ब्रान्डमा लक्जरीदेखि बजेट होटलसम्म सञ्चालन गर्दै आएको छ । संसारभर ६ हजार २ सयभन्दा बढी होटल तथा रिसोर्ट रहेको यो ग्रुपको ‘हिल्टन’ सबैभन्दा चर्चित प्रिमियम ब्रान्ड हो ।
यो होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल ४ किलोमिटरको दुरीमा रहेको छ भने ठमेल, दरबार मार्ग जस्ता प्रख्यात पर्यटकीय स्थलहरू यहाँबाट मात्र केही मिनेटको दूरीमा पर्दछन् । जसले गर्दा यो होटल व्यावसायिक तवरमा र छुट्टी मनाउन आउने दुवै किसिमका पर्यटकहरूका लागि उपयुक्त स्थल रहेको होटलको दाबी छ ।
हिलटन इन्डियाका वरिष्ठ उपाध्यक्ष तथा कन्ट्रि हेड जुविन सक्सेनाले समृद्ध सांस्कृतिक सम्पदा र उल्लेखनीय पर्यटन सम्भाव्यता बोकेको नेपाल जस्तो देशमा रणनीतिक प्रवेशका साथ हिल्टन काठमाडौंको शुभारम्भ गर्न पाउँदा अत्यन्त हर्षित भएको बताए ।
होटलको शुभारम्भसँगै भारतीय उपमहाद्विपमा हिल्टनको पदचिन्ह विस्तार गर्ने प्रतिबद्धतालाई बल मिलेको उनको भनाइ छ ।
हिल्टन काठमाडौंको साथमा हिल्टनको विश्व स्तरीय मापदण्डसँग नेपाली आतिथ्यताको सुगन्धलाई मिसाउँदै अतुलनीय अनुभवहरू प्रदान गर्न आफूहरू कटिवद्ध रहेको उनले बताए ।
शंकर ग्रुपका प्रबन्ध निर्देशक अग्रवालले हिल्टन जस्तो विश्वव्यापी शक्तिशाली ब्रान्डसँग जोडिँदै काठमाडौंको आकाशमा यो अर्को आकर्षण थप्न पाउनु सम्मानको विषय भएको बताए ।
‘हामीले होटललाई अत्यन्त सावधानीपूर्वक सिर्जना गरेका छौं, जसले यो जीवन्त गन्तव्यको भावनालाई समेट्दै ब्रान्डको परिचयात्मक आतिथ्यतालाई मूर्त रूप प्रदान गरेर नेपाली सम्पदालाई उत्सवमय बनाएको छ । हामी काठमाडौंमा फस्टाउँदै गइरहेको पर्यटन उद्योगको आधारशीला बन्न र विश्वभरका अतिथिलाई स्वागत गर्न तत्पर छौं । हाम्रो समूह गहिरो नेपाली वंश छ र हामी हिलटनको विश्वव्यापी ब्रान्डको सामर्थ्यसँग सम्बन्ध गाँसेर यस हलमार्क होटलमा विश्वभरका पाहुनलाई स्वागत गर्न पाउँदा उत्साहित भएका छौ,’ अग्रावलले भने ।
काठमाडौंको सबैभन्दा अग्लो यस होटलमा रहेका १७२ वटा कोठाहरूबाट पाहुनाले हिमालय श्रृङ्खलाको अतुलनीय मनमाहेक दृश्य अवलोकन गर्नुका साथ व्यक्तिगत तवरमा समेत विशिष्ट अनुभव हासिल गर्ने होटलले जनाएको छ ।
हिलटन काठमाडौंमा ५ अनुपम डाइनिङ भेन्युहरू उपलब्ध रहेको र जहाँ स्थानीय परिकारका स्वाददेखि अन्तर्राष्ट्रिय स्तरका स्वादहरूको मिश्रणको अनुभवहरू बटुल्न सकिने होटलको भनाइ छ ।