चौथो त्रैमाससम्ममा निर्जीवन बिमा कम्पनीहरुले संकलन गरे ४१ अर्ब बढी बिमा शुल्क
काठमाडौं । निर्जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४१ अर्ब ४६ करोड रुपैयाँ बढी बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको तथ्यांक अनुसार ४ वटा लघु बिमा कम्पनीसहित १८ वटा निर्जीवन बिमा कम्पनीहरुले कुल ४१ अर्ब ४६ करोड ६१ लाख ३० हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।
यसअवधिमा कुल जारी बिमालेखको संख्या २९ लाख ७७ हजार ११६ रहेको छ । कुल बिमा शुक्लमध्ये ४ वटा लघु निर्जीवन बिमा कम्पनीको हिस्सा २९ करोड ४८ लाख रुपैयाँ मात्र रहेको छ । यस अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ५ अर्ब ४७ करोड २ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । त्यसपछि, सगरमाथा लुम्बिनीले ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको छ ।
यता, सिद्धार्थ प्रिमियरले पनि ४ अर्ब माथि बिमा शुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट, आइजीआई प्रुडेन्सियल र नेको इन्सुरेन्सले पनि ३ अर्ब माथि बिमा शुल्क संकलन गरेका छन् । वैशाख महिनामा मात्रै निर्जीवन बिमा कम्पनीहरुले २ लाख ६४ हजार २८ वटा बिमा लेख जारी गरेका छन् ।