सहकारीको आयकरमा पूर्ववत दर कायम गर्ने अर्थमन्त्रीको प्रतिबद्धता
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले सहकारीमा लाग्ने आयकरलाई पूर्ववत रुपमा नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा क्रमश ५, ७ र १० प्रतिशतको दर कायम गर्न प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पछिल्लो पटक सहकारीमा सतप्रशित आयकर वृद्धि गरी नगर, उपमहानगर र महानगरमा क्रमशः १०, १५ र २० प्रतिशत रहेको छ ।
भेटमा राष्ट्रिय सहकारी महासंघले आर्थिक अध्यादेशपिच्छे सहकारीमा लाग्ने कर फरक–फरक आउने गरेकोले सहकारी ऐन, २०७४ मा भएका करका व्यवस्था बमोजिम आर्थिक ऐनमा समेत स्पष्ट व्यवस्था हुनुपर्ने र कर अनुपालना वृद्धि गर्न कर सचेतना, कर तालिम कार्यक्रमहरु महासंघ मार्फत गर्न वजेटको प्रबन्ध मिलाउने माग गरेको छ ।
उनले सहकारी अभियानको प्रवर्द्धन तथा शिक्षा तालीमका क्रियाकलापहरु अघि बढाउन र सहकारी ऐन नियमका प्रवर्द्धन व्यवस्थाहरु कार्यान्वयन गर्नेतर्फ पनि आफ्नो ध्यान केन्द्रित गर्ने बताए ।
सहकारी ऐन, नियम र तीन खम्बे अर्थनीतिको भावनाबमोजिम सहकारी अभियान अघि बढाउन सरकार प्रतिबद्ध रहेको अर्थमन्त्रीको भनाइ थियो । उनले वर्तमान अवस्थामा सहकारी खराब हो भन्ने भाष्य सृजना हुन पुगेको भन्दै सहकारीलाई सचेत र सजग गराए ।सहकारीका विकृति विसंगति चिरफार गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
महासंघका अध्यक्ष ओमदेवी मल्लले अर्थमन्त्री पौडेललाई सहकारी क्षेत्रका समस्या र समाधानका सुझावसहितको १८ बुँदे मागपत्र बुझाएकी छन् ।