१८ देशमा राजदूत सिफारिस गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले विभिन्न १८ वटा देशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राससलाई जानकारी दिए ।
उनले भारतका लागि राजदूतमा शंकर शर्मालाई नै निरन्तरता दिने र अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मीलाई सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । मन्त्री गुप्ताका अनुसार बैठकले विभिन्न ५ वटा देशबाट राजदूत फिर्ता बोलाउने समेत निर्णय गरेको छ । बैठकले २२ जना सचिवको सरुवा गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।
त्यसैगरी, बैठकले ३ वटा प्रदेशका प्रदेश प्रमुख फिर्ता बोलाउने निर्णय गरेको छ । उनका अनुसार वाग्मती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरिएको हो ।
सरकारले वाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।
रासस