आज मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न शुक्रबार बिहान ८ बजे नै बोर्ड बैठक बोलाएको छ। मौद्रिक नीति पारित गर्ने मुख्य एजेण्डा राखेर राष्ट्र बैंकले बोर्ड बैठक बोलाएको हो।
राष्ट्र बैंकको उच्च व्यवस्थापन तहले गत साता नै मौद्रिक नीति पारित गरिसकेका भएपनि सरकार परिवर्तको कारणले गर्दा गत साता मौद्रिक नीति सार्वजनिक हुन सकेन्। प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकार युवराज खतिवडाले मौद्रिक नीतिमा थप संशोधन गर्नुपर्ने बताएपछि मौद्रिक नीति सार्वजनिक हुन सकेन। अहिले प्रधानमन्त्री र उनका सल्लाहकार खतिवडाको सुझावलाई समेत समेटेर राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै छ।
अहिले राष्ट्र बैंकले शेयर धितो कर्जाको जेखिम भार १२५ प्रतिशत कायम गरिसकेको छ भने कर्जाको सीमा व्यक्तिगतलाई १५ करोड र संस्थागत लगानीकर्तालाई २० करोड रुपैयाँको कायम गरिएको छ। यसपटकको मौद्रिक नीतिमा गभर्नर अधिकारीले जोखिमभारलाई १०० प्रतिशतमा नै झार्ने र सीमालाई समेत केहि बढाउने तयारी गरेका छन् तर गभर्नर अधिकारी अझै पनि शेयर धितो कर्जाको सीमा पुरै हटाउन भने तयार छैनन्।
यसैगरी राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई गरिएको कडाइमा समेत लचिलो नीति लिँदै छ। अहिले कर्जा लगानी गर्दा १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने व्यवस्था छ भने १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न समेत राष्ट्र बैंकले रोकेको छ। १५ प्रतिशतभन्दा बढी लाभांश दिन कुल लाभांशको ५० प्रतिशत रकम विभिन्न कोषमा छुट्याउनुपर्ने व्यवस्था गरेको छ। यसमा पनि राष्ट्र बैंकले केहि सहजिकरण गर्ने भएको छ। यस्तै लघुवित्त कम्पनीहरुलाई समेत स्प्रेड दर तोक्ने तयारी राष्ट्र बैंकको छ।
पछिल्लो दुई आर्थिक वर्षमा बैंकहरुको कर्जा लगानी निकै न्युन भएपछि केन्द्रीय बैंक यसपटकको मौद्रिक नीतिमा कर्जा विस्तार गर्न केहि लचक बन्दै छ। कर्जा लगानीमा कसिलो नीति लिँदै आएको केन्द्रीय बैंकले यसपटक बैंकहरुकाे कर्जा लगानी बढाउने गरी नीति ल्याउँदै छ। अहिले बैंकहरुमा ७ खर्ब बढी लगानीयोग्य रकम थुप्रिएको छ ब्याजदर पनि न्युन छ तर कर्जा लगानी बढ्न सकेको छैन। यसै कारण केन्द्रीय बैंकले नीतिगत व्यवस्थालाई लचिलो बनाउन लागेको हो।
राष्ट्र बैंकले शेयर बजार, घरजग्गा, हायरपर्चे कर्जा र चालुपूँजी तथा ओभरड्राफ्ट कर्जामा समेत केहि लचकता अपनाउने भएको छ।
अहिले बैंकहरुको नाफा निरन्तर घट्दै गएको अवस्थामा केन्द्रीय बैंकले बैंकहरुको नाफा बढाउन समेत नीतिगत रुपमा लचकता अपनाउने भएको छ। बैंकहरुको नाफा निरन्तर घट्दै गएको र शेयरधनीको रिटर्न समेत घट्दै गइरहेकोले नाफा बढाउन राष्ट्र बैंक लचक बन्ने देखिएको छ।