क्यान महासंघको आयोजनामा साउन ११ ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ हुँदै
काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा यहि साउन ११ गते शुक्रबार ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल’ हुने भएको छ । राजधानीको एभरेस्ट होटलमा हुने दोस्रो संस्करणको उद्घाटन समारोह सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङबाट हुनेछ ।
बीटूबी समिट २०२४ को मुख्य विषयवस्तु “आईसीटी विकासका लागि नेटवर्किङ र सहकार्य” (Geared towards Networking and Collaboration for ICT Development) रहेको छ ।
यस बीटूबी समिटमा व्यापारको भविष्य बारे किनोट स्पिच, डिजिटल रूपान्तरण, दिगोपन र इमर्जिङ मार्केटबारे छलफल, आर्टिफिसियल इन्टेलिजेन्सको साथै नेपालका लागी विभिन्न कम्पनीका आधिकारिक डिलर र रि सेलरहरु बिच आफ्नो व्यापार प्रवर्धनको अवसर हुनेछ । यसले आयातकर्ता र विक्रेता बिचको ग्याप लाई घटाउने काम गर्दछ । बिटुबी मार्फत देश भरिको डिलरहरु र व्यावसायीहरु लाई जोडिने काम हुन्छ । समिटमा व्यावसायीहरु, कर्पोरेट हाउस, प्रोफेसनलको अभुतपुर्व जमघट साथै नवीनतम प्रबिधिको प्रदर्शनी हुने क्यान महासंघका अध्यक्ष रणजीत पोदारले जानकारी दिए । यस संस्करणको सम्मेलनले नेपालको आईसीटी क्षेत्रका चुनौती र अवसरहरूलाई सम्बोधन गर्ने अध्यक्ष पोदारको भनाइ छ ।
कार्यक्रममा आईसीटी, बैंकिङ, विकास फिनटेक लगायत क्षेत्रका १०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता रहने आयोजकको अपेक्षा छ ।
यस समिटले नेटवर्किङ, सहकार्य र आईसीटी उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्न महत्त्वपूर्ण मञ्च प्रदान गर्ने महासंघका महासचिव चिरञ्जीवी अधिकारीले बताए । समिटमा क्यान महासंघका ७४ जिल्ला र प्रादेशिक शाखाका प्रतिनिधिहरूलाई अन्य व्यावसायिक संस्था र व्यक्तिहरूसँग परिचित हुने अवसर मिल्ने उनले जनाए ।
उनका अनुसार आईसीटीमा आधारित व्यावसायिक फर्महरू र उद्यमशीलतामा लागेका नयाँ व्यवसायीहरूका लागि आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्ने, साझेदारी र सहकार्य सिर्जना गर्ने र नयाँ क्षेत्रहरू र बजारहरूमा आफ्नो व्यवसाय विस्तार गर्ने उत्कृष्ट अवसरका रूपमा समिट आयोजना हुनेछ ।
सन् १९९२ मा स्थापना भएको क्यान महासंघले नेपाल सरकारको आईसीटी योजना र नीति निर्माण तहमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । ३२ वर्षको इतिहासमा महासंघले नेपालका सबै जिल्लामा आफ्नो सञ्जाल विस्तार गरेको छ भने देशको संघीय प्रणालीअनुसार सातवटै प्रदेशमा प्रादेशिक समितिहरू पनि स्थापना गरिएको छ ।
प्रायोजकबारे
बीटूबी समिट २०२४ को शीर्ष प्रायोजकमा एडुटेक इन्टरनेशनल प्रा. लि., ‘Horion’ ब्राण्ड अन्तर्गत सञ्चालन हुने नेपाली कम्पनी हो, जसले इन्टेलिजेन्ट प्रडक्ट र सलुसन्स प्रदान गर्छ । कम्पनीका मुख्य उत्पादनहरूमा K6A series (Educational Solution), M6A Pro series (Business Solution), Smart Lectern E Podium, Gaming Monitor, Video Wall Solution लगायत छन् ।
बीटूबी समिट २०२४ को सह शीर्ष प्रायोजकमा बार कोड नेपाल इंक प्रा. लि. ले नेपालमा ZKTeco, Evolis, Zebra, SATO, Matica, Fanvil, Yeastar, Frutonic, CMItech, CZUR, Sewoo, Secugen, Hikrobot, Milesight जस्ता अन्तर्राष्ट्रिय प्रतिष्ठित ब्रान्डहरूलाई प्रतिनिधित्व गर्दछ । हाल आफ्नै सर्भिस सेन्टर र सफ्टवेयर प्रोडक्सन रहेको यस कम्पनीले ठूला प्रोजेक्टहरूमा सिस्टम इन्टेग्रेशन गर्नुको साथै मेशिन लर्निङ, भिजन टेक्नोलोजी जस्ता नयाँ प्रविधिमा काम गर्दै आएको छ ।
त्यस्तै, कार्यक्रमका गोल्ड स्पोन्सरमा ठाक्राल वन नेपाल प्रा.लि., सिल्भर स्पोन्सरहरूमा इन्टरनेसनल इलेक्ट्रोनिक्स कन्सर्न प्रा.लि., इन्फोडेवलपर्स प्रा.लि. र एचएमसी नेपाल प्रा.लि. रहेका छन् । कार्यक्रममा थप २५ भन्दा बढी कम्पनी एवं संस्थाले साझेदारी गरेका छन् ।