नेपालबाट २२ सय जना केयर गिभर लैजादै इजरायल, प्रति कामदार मासिक तलब २ लाखभन्दा माथि
काठमाडौं । जरायलले दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार अर्थात् केयर गिभरका रूपमा आफ्नो देशमा दुई हजार नेपालीलाई रोजगारी दिने भएको छ ।
सरकार-सरकार बीचको सम्झौता (जीटुजी) प्रकृयाबाट कामदार लैजाने बारेमा नेपाल र इजरायलबीच सोमबार भएको सहमती अनुसार कामदार छनौट प्रकृया छिटै शुरु हुने भएको छ ।श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरेली राजदूत हनान गोदरबीच उक्त सहमति भएको हो ।
त्यसबाहेक आगामी दिनमा कृषिलगायत अन्य क्षेत्रमा समेत नेपाली श्रमिकहरू इजरायल लैजाने बारेमा समेत सकारात्मक छलफल भएको श्रम मन्त्रालयले जानकारी दिएको छ । स्मरणरहोस् केयर गिभर र कृषि श्रमिकको रुपमा नेपालबाट इजरायलमा कामदारहरु जाने गरेका थिए । तर, गत वर्षको अक्टोबरमा इजरायल हमास युद्ध सुरु भएदेखि सरकारले इजरायलमा कामदार पठाउने प्रकृया रोकेको थियो ।
हमासको हमलामा परेर लर्न एन्ड अर्न कार्यक्रममा गएका १० नेपाली विद्यार्थीको पनि मृत्यु भएको थियो । त्यस घटनामा बेपत्ता भएका नेपाली विद्यार्थी विपीन जोशीको अवस्था अझै अनिश्चित छ ।
त्यसयता रोकिएको नयाँ कामदार पठाउने प्रक्रिया सोमबारको सम्झौतासंगै फेरि शुरु हुने भएको छ ।
केयर गिभरको रुपमा काम गर्न जाने नेपाली कामदारले मासिक तलब नेपाली कम्तिमा दुई लाख रुपैयाँ हुने बताइएको छ ।
न्यूनतम योग्यता इजरायल जान चाहने नेपाली कामदारका लागि विभिन्न न्यूनतम योग्यता तोकिएको विभागले जनाएको छ । त्यो अनुसार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्ने, कम्तीमा १.५ मिटर उचाइ र कम्तीमा ४५ किलोग्राम तौल हुनु पर्दछ ।
कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी (एएनएम) वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा तीन महिनाको तालिम लिएको हुनुपर्ने, भिसाका लागि प्रक्रिया प्रारम्भ गर्दा आवेदकको राहदानीको म्याद समाप्त हुन कम्तीमा तीन वर्ष बाँकी रहेको हुनुपर्ने तथा विगतमा इजरेलमा गएर काम नगरेको र बाबु, आमा, पति, पत्नी, छोरा, छोरी इजरेलमा बसोबास नगरेको वा कार्यरत नरहेको मानसिक र शारीरिक रूपमा स्वस्थ नागरिक हुनुपर्ने शर्त राखिएको छ ।
सोमबारको सम्झौता अनुसार इजरायल पठाइने कामदारमध्ये ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष रहने छन् । त्यसरी जाने कामदारले त्यहाँको नियमानुसार साताको छ दिन कुल ४२ घण्टा काम गर्नुपर्ने हुन्छ । त्यसबाहेक अतिरिक्त समय (ओटी) काम गर्दा इजरेलको सरकारी नियमानुसार उनीहरूले थप पारिश्रमिक पाउने छन् । सुरुमा एक वर्षको करारमा जाने कामदारले त्यो अवधि थप गर्न सक्छन् र अधिकतम पाँच वर्षसम्म काम गर्न पाउने छन् ।
अन्तिम चरणमा छनोट भएर इजराल जान पाउने नेपाली कामदारहरूले हवाई भाडा, स्वास्थ्य बीमा, पूर्वप्रस्थान अभिमुखीकरण, राहदानी, स्वास्थ्य परीक्षण, अङ्ग्रेजी भाषा परीक्षण, कोभिड परीक्षण, वैदेशिक रोजगार कल्याणकारी कोषका गर्नुपर्ने योगदान र सामाजिक सुरक्षा कोषमा जम्मा गर्नुपर्ने रकमहरु आफै बेहार्नु पर्ने श्रम मन्त्रालयले जानकारी दिएको छ ।