जीडीपीको ४२.६५ प्रतिशत पुग्यो सार्वजनिक ऋण
काठमाडौं । सरकारको ऋण दायित्व थप बढेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक अनुसार गत आर्थिक वर्षमा सरकारको ऋण दायित्व थप १ खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँले बढेको छ । गत आर्थिक वर्षको सुरुमा २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख रुपैयाँ रहेको ऋण दायित्व गत असार मसान्तसम्म आइपुग्दा २४ खर्ब ३४ अर्ब ३ करोड ६५ लाख रुपैयाँ पुगेको हो ।
यसअवधिमा सरकारले ३ खर्ब ५८ अर्ब २ करोड ९५ लाख रुपैयाँ ऋण प्राप्ती गर्दा २ खर्ब २३ अर्ब ३४ करोड ५४ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत आर्थिक वर्षमा सरकारले ४ खर्ब ५२ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो । यद्दपि, गत आर्थिक वर्षमा प्राप्ती गरेको ऋण लक्ष्यको ७९.०८ प्रतिशत मात्र हो ।
ऋण दायित्व थपिँदै जाँदा कुल गार्हस्थ उत्पादन (जीडीपी) मा यसको हिस्सा पनि बढ्दै गएको छ । गत आर्थिक वर्षसम्मको कुल सार्वजनिक ऋण मुलुकको जीडीपीसँगको तुलनामा ४२.६५ प्रतिशत पुगेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । देशको सार्वजनिक ऋण प्रत्येक नागरिकलाई भाग लगाउने हो भने एक जनाको भागमा ८३ हजार ४५८ रुपैयाँ पर्न जाने देखिन्छ ।