सुनको मूल्यले निरन्तर ऐतिहासिक उचाइ बनाउँदै, भाउ डेढ लाख
काठमाडाैं । साउन २ गते, बुधबार सुनको मूल्य पुनः ऐतिहासिक उचाइमा पुगेको छ । पछिल्लो चार कारोबार दिनदेखि सुनको मूल्यले निरन्तर रुपमा नयाँ उचाइ बनाउदै बढेको हो । यस दिन सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेर हालसम्मकै उचाइ कायम गरेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजावी सुन प्रतितोला एक लाख ४९ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
मंगलबार छापावाला सुन प्रतितोला एक लाख ४७ हजार ८०० रुपैयाँमा र तेजावी सुन प्रतितोला एक लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य गत शुक्रबारदेखि निरन्तर रुपमा नयाँ रेकर्ड बनाउदै बढेको छ ।
महासंघका अनुसार यस दिन चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला एक हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ । मंगलबार चाँदीको मुल्य प्रतितोला एक हजार ८७५ रुपैयाँमा किनबेच भएको थियो ।