आज चौथोपटक प्रधानमन्त्री बन्दै ओली, को बन्लान अर्थमन्त्री ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीको रुपमा आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्ति गर्दैछन् । ओली चौथोपटक मुलुकको प्रधानमन्त्री बन्न लागेका हुन् । उनले संविधानको धारा ७६ (२) अनुसार गठन हुने सरकारको नेतृत्व गर्दैछन् ।
यसअघि पहिलोपटक २०७२ असोज २४ मा उनी पहिलोपटक प्रधानमन्त्री बनेका थिए । २०७३ साउन ९ गतेसम्म करिब एक वर्ष प्रधानमन्त्री रहेका उनको उक्त कार्यकाल खासै उपलब्धिमूलक रहेन । त्यसपछि २०७४ फागुन ३ गते प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा उनी दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । उक्त कार्यकाल उनको विवादित रह्यो ।
पार्टीभित्रै कमजोर भएपछि उनले २०७७ पुस ७ गते संसद् नै विघटन गरे, जुन घटनामा आजपर्यन्त उनको आलोचना हुँदै आएको छ । संसद् विघटन असंवैधानिक भन्दै २०७७ फागुन ११ गते सर्वोच्चले उक्त निर्णय उल्टायो ।
२०७८ वैशाख ३० गते सदनबाट विश्वासको मत गुमाएपछि सोही दिन राति कसैको पनि बहुमत नपुगेको भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
तेस्रोपटक २०७८ जेठ ८ गते उनले दोस्रोपटक संसद् विघटन गरे । उक्त मुद्दामा सर्वोच्चले ओलीको निर्णय उल्टाउँदै २०७८ असार २८ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।
कार्यवाहक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदनबाट विश्वासको मत गुमाएपछि ओली कांग्रेसको समर्थनमा चौथोपटक प्रधानमन्त्री बन्न लागेका हुन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आइतबार असार ३० गते अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए । आह्वानअनुसार एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका छन् ।
राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन् ।
नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने उनले बताए ।
ओली प्रधानमन्त्री बन्ने भएसँगै उनको मन्त्रिमण्डलबारे पनि चर्चा शुरु भएको छ । शुरुमा १५ सदस्यीय मन्त्रीमण्डलका लागि दुई दल आन्तरिक तयारीमा जुटेका छन् । पछि सरकारलाई समर्थन गर्ने अन्य दललाई पनि सहभागी गराउने तयारी ओली-देउवाको छ ।
मन्त्रीका लागि एमालेबाट विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, पदम गिरी, सुनिता बरालको नाम चर्चामा छ भने कांग्रेसबाट प्रकाशमान सिंह, आरजु देउवा, रमेश लेखक, हृदयराम थानी, विनोद चौधरी, प्रदीप पौडेल, जीवन परियार, चन्द्र भण्डारीलगायतको नाम चर्चामा छ ।