सुनको मुल्यले फेरी वनायो नयाँ रेकर्ड
काठमाडौँ । यो साता बिश्व बजारमा सुनको मुल्य बढ्दो क्रममा रहेको छ । ब्यूरो अफ लेबर स्टाटिस्टिक्सको पछिल्लो कन्जुमर प्राइस इन्डेक्स (सीपीआई) प्रतिवेदनले जुन महिनामा मुद्रास्फीतिको दबाबमा उल्लेखनीय गिरावट आएकोले त्यसको प्रभाव सुन बजारमा पर्न
गई सुनको मुल्य उचाइमा पुगेको बिश्लेषकहरुले बताएका छन्। हाल प्रति औंस सुनको मुल्य २४ सय अमेरिकी डलर माथि पुगेको छ ।
नेपाली बजारमा पनि यो साताको पहिलो दिन नै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २४ हजार ६ सय ६० रुपैयाँ रहेको मुल्य साता भरको उतार चढाव पश्चात साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार मुल्य वृद्धि भई हालसम्मकै उचाइमा पुगेको प्रति १० ग्राम १ लाख २५ हजार ७ सय ७० रुपैयाँ कायम भएको छ । यो मुल्य पहिलो दिनको तुलनामा अन्तिम कारोबार भएको दिन शुक्रबार १ हजार १ सय १० रुपैयाँ बढी हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ६ सय २० रुपैयाँ रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ६ सय २९ रुपैयाँ कायम भयो ।