आन्तरिक पर्यटन प्रबर्धनका लागि नविन गन्तव्यहरूको खोजी र टिकटक
छोटा भिडियोहरूका लागि संसारकै लोकप्रिय एप टिकटकले मनोरन्जन र संचारका साथै प्रयोगकर्ताका शिल्प, कला, नाच र अभिनयका क्षमताहरू प्रष्फुटन गर्ने मंच प्रदान गर्दै आएको छ। पछिल्लो समयमा यसले अन्य धेरै क्षेत्रको प्रबर्धन र बजारीकरणमा पनि योगदान दिँदै आएको छ जसमा अन्तरिक पर्यटन प्रमुख क्षेत्रको रुपमा रहेको छ। आफूले यात्रा गरेका स्थानका चिनोस्वरूप केहि कोसेलीहरु ल्याउने, तस्वीरहरू खिच्ने चलन अब पुरानो भैसक्यो। हातमा स्मार्टफोन र त्यस भित्र टिकटकजस्तो सशक्त प्लेटफर्म भएपछि अब यात्राबाट आफ्ना लागि सम्झना मात्र नभएर अरुका लागि प्रेरणा पनि ल्याउन सहज बनेको छ।
डिजिटल भाषामा भ्लगिंग भनिने यात्राको भिडियो विवरण र अनुभवलाई केहि सेकेन्ड वा मिनेटकै भिडियोमा समेटेर माइक्रो भ्लगिंग गर्ने आजको ट्रेण्ड हो। यसबाहेक नौला स्थानका आकर्षक अनि सिनेम्याटिक क्लिप्सहरूले पनि धेरैजनालाई ती ठाउँहरूमा जाउँजाउँ लाग्ने हुटहुटी जगाउने गर्दछ। यसका लागि ती ठाउँ कुनै विशेष महत्त्वका ऐतिहासिक, पुरातात्विक वा सांस्कृतिक विशेषता बोकेका टाढाका स्थलहरू हुनैपर्छ भन्ने पनि जरुरि रहेन। डिजिटल मिडियाले पर्यटन क्षेत्रलाई प्रिमियम र विलासिता भन्दा पर आम मानिसले पनि मजा लिन सक्ने गतिविधिका रुपमा फैलाउन मद्दत गरेको छ। यसका लागि छोटो दूरीको यात्रा र स्थानीय गन्तव्य केन्द्रित आन्तरिक पर्यटनलाई आकर्षक र सर्वव्यापी बनाउन टिकटकले महत्त्वपूर्ण भूमिका खेलेको छ।
बढ्दो आम्दानी र क्रयशक्तिले गर्दा अब ठूलो सङ्ख्याका नेपालीहरूमा गाँस, बास र कपासजस्ता आधारभूत आवश्यकतासँगै मनोरन्जन र घुमघाम जस्ता थप कुराहरू पनि जीवनमा आवश्यक चिज हुन् भन्ने चेतना बढ्दो छ। यसका साथै विश्वव्यापीकरणको प्रभावले यात्रा र भ्रमणलाई संस्कृतिको रुपमा अपनाउने चलन पनि नेपालीहरुमा बढ्न थालेको छ। यसरी नयाँ पुस्ताका नेपालीले पर्यटनलाई उच्च प्राथमिकतामा राख्न थालेका छन्।
युवाहरूमा आफूले घुमेका ठाउँहरुका बारेमा भिडियो कन्टेन्ट बनाउने क्रम बढ्दो छ। यस्ता मौलिक, जानकारीमुलक र निजात्मक अनुभूति सहितका सुन्दर कन्टेन्टहरुले अन्य प्रयोगकर्ताहरूमा ती ठाउँका बारेमा उत्सुकता र जिज्ञासा बढाउने र घुम्न प्रेरित गराउने गरेको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिरपरिचित र विशेष महत्त्व बोकेका स्थानहरु पर्यटकका लागि सधैं आकर्षक गन्तव्य बन्दै आएका छन्। तर स्मार्टफोनको सहजता र आमसंचार भन्दा बढी सामाजिक संजालको शक्ती बढ्दै गएको नयाँ परिप्रेक्षमा कन्टेन्ट निर्माता र प्रदर्शक समेत व्यक्ति स्वयम् हुने यस समयमा पर्यटकलाई स्थानीय र ओझेलमा परेका स्थानहरुले लोकप्रिय गन्तव्यका रूपमा आकर्षित गर्न थालेका छन्।
हिजोसम्म कसैको नजर नपरेका ठाउँहरूमा आजै मानिसको भीड लाग्ने गरेका उदाहरण हामीसँग प्रशस्त छन्। यसमध्ये एक हो काभ्रेपलान्चोक जिल्लाको रोसी गाउँपालिका २ को काफलडाँडास्थित तीनधारे झरना। केहि समय अघिसम्म गुमनाम यस झरना कोभिड महामारीको समयमा भएको लकडाउनपछि बिस्तारै चर्चामा आउन थाल्यो। प्रसिद्ध भारतीय चलचित्र बाहुबलीमा भीएफएक्स मार्फत् देखाइएको झरनाको सौन्दर्यलाई मात खुवाउने हाम्रो आफ्नै प्राकृतिक झरना टिकटकमा देखेपछि देशभरबाट त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा एक्कासी बाढी आयो। यसपछि रसुवाको भांगे छाँगो लगायत देशभरका अन्य धेरै झरनाहरूले बाहुबली झरनाको ‘निकनेम’ प्राप्त गर्दै पर्यटक आर्जन गर्ने सिलसिला सुरु भयो।
हाल मुख्य शहर छेउछाउका यस अघि खासै चर्चा नभएका स्थानहरूमा समेत पर्यटन गतिविधि बढ्न थालेका छन्। ती स्थानहरुमा हाइकिंग, ट्रेकिंग, बाइक राइडिंग, साइक्लिंग लगायत अन्य धार्मिक तथा आध्यात्मिक गतिविधिहरु पनि हुन थालेका छन्। सुन्दरीजलबाट करिब २० किमीको दूरीमा रहेको र चार घण्टाको समय लाग्ने भएकाले छोटो यात्रा गर्न चाहने काठमाडौँबासीका लागि शिवपुरीस्थित धाप ड्यामको हाइकिंग लोकप्रिय बन्न थालेको छ। यसका साथै काठमाडौँको उत्तरपूर्वी क्षेत्रस्थित शंकरापुर नगरपालिकामा पर्ने २२३० मिटर अग्लो स्थानमा रहेको मणिचुड दहको ड्रोन शटका आकर्षक दृश्यहरू एकाएक टिकटकमा भाइरल हुन पुग्यो। यसले पनि ती स्थानमा पर्यटकको घुइँचो लगायो। हाइकिंग र अन्य पर्यटन गन्तव्यका लागि मणिचुड दह नयाँ नभए पनि पर्यटकको सङ्ख्यामा गुणात्मक वृद्धि गराउन टिकटकका भिडियोहरूले नै मुख्य योगदान गरे।
यसबाहेक पछिल्लो समयमा घुम्न र पिकनिकका लागि नगरकोटको बोजिनी ड्यामले निकै चर्चा पाउने गरेको छ। उता हिमालका मनमोहक दृश्यसँगै तराईका समथर भूभागसमेत देखिने, ठूला चट्टानले बनेको र अग्लो स्थानमा रहेको काभ्रे जिल्लाको बेथानचोक डाँडामा पनि सुर्योदय हेर्न पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या लोभलाग्दो रहेको छ।
यीबाहेक धनकुटाको बाघे खोला, भक्तपुरको गुन्डु, रानिकोट गढी जस्ता स्थानहरुमा मानिसहरूको भिड लाग्ने गरेका छन्। त्यस्तै भीड काठमाडौँको नागार्जुन नगरपालिकामा रहेको इचंगुको ‘सिंगल ट्री’मा पनि लाग्ने गरेको छ। एक्ले रुखमा गएर पिंग खेल्दै भिडियो खिचेर टिकटकमा राख्ने मन कसलाई नहुँदो हो। देशभरका यस्ता सैयौं ठाउँहरूमा घुम्न जाने मानिसहरुको सङ्ख्यामा वृद्धि भएसँगै टिकटकमा उनीहरुले बनाउने कन्टेन्टहरू पनि उल्लेख्य रुपमा बढ्न थालेका छन्। यसले उक्त स्थानहरूको चर्चा र लोकप्रियतामा थप बढोत्तरी हुन गई त्यहाँको आर्थिक गतिविधि पनि चलायमान गराइरहेका छन्।
पछिल्लो दशकमा बसाईसराई र विदेश पलायनले रित्तो हुन थालेका ठाउँहरू पनि हाल पर्यटन गतिविधि बढ्न थालेका कारण गुलजार हुन थालेका छन्। ती स्थानहरू साना तथा मझौला खाजा घर, रेस्टुरेन्ट, सुभेनियर पसल, पूजा सामाग्री पसल तथा गाइड सेवाहरू आदिको स्थापनाले गर्दा रोजगारी र व्यवसायको अवसर सिर्जना भई निकै चलायमान हुन थालेका छन्। यसले आर्थिक गतिविधि वृद्धि हुनका साथै पलायन पनि रोक्न थालेको अवस्था छ।
यी स्थानहरूले सिर्जना गरेका अवसर र यिनले खडा गरेका सम्भावनाहरू बृहत् छन्। तर टिकटकमा प्रतिबन्ध लागेसँगै यी स्थानहरूले बिस्तारै पर्यटक गुमाउन थालेका छन्। भ्रमण गर्ने यात्रुको सङ्ख्यामा ह्रास आएसँगै त्यसको सिधा असर त्यससँग आश्रित व्यवसायहरूमा पर्न थालेको छ। ती स्थानहरूको सम्भावनालाई मध्येनजर गर्दै तन र मनसँगै ठूलो धनको लगानी लगाएका व्यवसायीहरू अहिले घट्दो पर्यटक सङ्ख्याका कारण मर्कामा परेका छन्। यसले नेपालको अर्थतन्त्रमा ठूलो योगदान हुन सक्ने ठाउँमा उल्टै व्यवसाय चौपट हुन लाग्दा ठूलो धनराशीको लगानी घाटामा जाने अवस्था छ।
वस्तु र सेवाको प्रचार, प्रसार अनि बजारीकरणका लागि सशक्त, कलात्मक अनि नविन प्रविधिको प्रयोग हुने टिकटकजस्ता माध्यमले ती कार्यमा लाग्ने खर्च घटाई, पहुँच र प्रभाव बिस्तार हुने अवस्था थियो। तर यस बारेमा कुनै अध्ययन नै नगरी एकपक्षीय रूपमा रोकावट लगाउँदा हरेक मानिसको अभिव्यक्ति स्वतन्त्रतामा बाधा त उत्पन्न भएको छ नै, स्वरोजगार सिर्जना गर्न सक्ने ठूलो क्षेत्रको सम्भावनालाई पनि मारेको छ। सिर्जना सिज्जु, घुमन्ते जस्ता ट्राभल भ्लगरले छिचोलेका ठाउँहरूलाई पछ्याएर घुम्न निस्किने ठूलो जमात तयार हुँदै थियो। प्रतिबन्धले त्यो फैलावटलाई रोकेको छ। भौगोलिक विविधताले सम्पन्न हाम्रो देशमा पर्दा उघ्रिन बाँकी धेरै स्थलहरू छन्, टिकटक बन्द हुँदा त्यो मौका पनि गुम्ने अवस्था छ।
समयको रफ्तारसँग दौडिन सकिएन भने हाम्रो समाजको विकास र नागरिकको उन्नति धिमा गतिमा हुन थाल्छ। भएका उपकरण, औजार, प्रविधि र स्रोतलाई सकारात्मक रूपमा परिचालन गर्नुमा नै राष्ट्रको हित हुन्छ भन्ने कुरा राज्य सञ्चालकहरूले बुझ्नु जरुरि छ। अब टिकटकलाई पुन: संचालन हुने वातावरण बनाउन ढिला गर्नु हुँदैन।