यो साता पनि सुनको मुल्यले राख्यो रेकर्ड, भन्सार दरमा भएको बृद्धि मुख्य कारण
काठमाडौं । शुक्रबार सुनकाे भाउले नयाँ रेकर्ड कायम गर्याे । सुनकाे भाउ प्रतिताेला एक लाख ४२ हजार २०० रूपैयाँ पुगेर हालसम्मकै महंगाे भएकाे हाे । यसअघि जेठ ७ गते, साेमबार सुनकाे भाउ ऐतिहासिक उचाइमा पुगेकाे थियाे । त्यस दिन, सुन प्रतिताेला एक लाख ४१ हजार ८०० रूपैयाँ कायम भएकाे थियाे ।
नेपाली बजारमा यो साता सुनको मुल्यले नयाँ उचाई कायम गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । महासंघका अनुसार सरकारले आगामी आर्थिक बर्षको बजेट बक्तब्य मार्फत सुनको भन्सार दरमा गरेको बृद्धिका कारण मुल्य बढ्न गएकाे हाे ।
सरकारले भन्सार दरलाई १५ प्रतिशतबाट बृद्धिगरी २० प्रतिशत पुयाएको छ । जसको प्रभाव सिधै सुनको मुल्यमा परेको महासंघकाे दाबी छ ।
साताभर नै बढेकाे सुनकाे मूल्य शुक्रबार हालसम्मकै उच्च अर्थात् प्रतिताेला एक लाख ४२ हजार २०० रुपैयाँ पुगेर नयाँ रेकर्ड राख्याे ।
यो साता नेपाली बजारमा चाँदीको मुल्यमा भने उतार चढाव आएको छ । साताको पहिलो दिन, आइतबार चाँदी प्रतिताेला एक हजार ८५५ रूपैयाँ रहेको थियाे । बुधबार चाँदी प्रतिताेला एक हजार ९३० रूपैयाँमा किनबेच भएकाे थियाे। तर चाँदीकाे मुल्य साताको पछिल्लो कारोबार भएको दिनसम्ममा घटेर, शुक्रबार ताेलाकाे एक हजार ८७५ रूपैयाँ कायम भयो । महासंघकाे तथ्यांक हेर्दा यस साता चाँदी ताेलामा २० रूपैयाँले बढेकाे छ ।
यो साता बिश्व बजारमा सुनको मुल्य उच्च रहेको छ । अमेरिकी डलरको मजवुति कायम रहन नसक्दा र अमेरिकी ट्रेजरीको प्रतिफलमा आएको गिरावट लगायतका कारण सुनको मुल्यमा चाप परेको बिश्लेषकहरुले तर्क गरेका छन्। विश्व बजारमा साताको चौथो दिन बुधबार साताकै उचाइमा पुगेको मुल्य त्यस पछिका दिनमा भने मत्थर भएको थियो ।