माछापुच्छ्रे बैंकद्वारा सल्यानको त्रिभुवन विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सल्यानको शारदा नगरपालिका–१५, माल्नेटामा रहेको त्रिभुवन जनमाध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको छ ।
बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधा हस्तान्तरण गरेको हो । विद्यालय सञ्चालनका लागि अतिआवश्यक पर्ने खानेपानीका अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाएपछि बैंकले उक्त विद्यालयको अवस्था अवलोकन गरी पूर्वाधार निर्माण गरेको हो ।
२८९ जना विद्यार्थी र १८ जना शिक्षक/कर्मचारी कार्यरत विद्यालयले ३५ सय मिटर टाढा रहेको मुहानबाट अस्थायी रूपमा पानीको पाइप जडान गरेर खानेपानीको व्यवस्था गर्दै आएको थियो । तर, खडेरीका समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुनेलगायत समस्या थियो ।
उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रूपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्यांकी निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेर विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो । बैंकले झन्डै २ महिनाको समय लगाएर उक्त पूर्णधार निर्माण गरेको थियो ।