आलु, प्याज र स्याउमा लगाएको भ्याट खारेज, मूल्य घट्ने
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आलु, प्याज, स्याउ लगायतका तरकारी एवं फलफूलमा लागाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेका छन्। संघीय संसदमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले अघिल्ला अर्थमन्त्री डा. प्रकाशशरण महतले आलु, प्याज र स्याउमा लगाएको मूल्य अभिवृद्धि कर हटाएका हुन् ।
तरकारी र फलफुलमा लागाएको मूल्य अभिवृद्धि कर खारेजीले स्वदेशी उत्पादनको संरक्षणमा टेवा पुग्ने जनाइएको छ । अर्थमन्त्री पुनले मदिरा, वियर, सूर्ति र चुरोटमा लगाइएको अन्तः शुल्क दरमा वृद्धि गरेका छन् ।
सरकारले बजेटमार्फत मूल्य अभिवृद्धि कर छुट दिइएका वस्तु र सेवाको सूची घटाउँदै स्वच्छ कर प्रणाली विकास गर्न र कराधार विस्तार गर्न केही वस्तुमा मूल्य अभिवृद्धि कर छुट दिने व्यवस्था खारेज गरेको जनाएको छ ।
मूल्य अभिवृद्धि करमा दर्ताका लागि वस्तु र सेवाको मिश्रित कारोवारमा हाल रहेको थ्रेसहोल्डमा वृद्धि गरी ३० लाख पुर्याइएको छ । कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरूप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाइएको छ ।
उद्योगले पैठारी गर्ने कच्चा पदार्थमा लाग्ने महसुल भन्दा तयारी वस्तुको पैठारीमा लाग्ने महसुल कम्तीमा एक तह कम गरी स्वदेशी उद्योगलाई प्राथमिकता र प्रश्रय दिन औषधि, इन्डक्सन चुल्हो, धागो, हेल्मेट, अगरबत्ती, सेनिटरी प्याड, काजु र बदाम प्रशोधन, स्प्रिङ पत्ता बनाउने उद्योग लगायतका उद्योगको कच्चा पदार्थमा लागेको पैठारी महसुल र अन्तः शुल्क घटाएको अर्थमन्त्रीले घोषणा गरेका छन् ।
स्वदेशी उद्योगको संरक्षण गर्न केही तयारी वस्तुको पैठारी महसुल र अन्तः शुल्कमा वृद्धि गरेको अर्थमन्त्री पुनले जनाएका छन् । उद्योगको कच्चा पदार्थको पैठारीमा सहुलियत लिन विभिन्न निकायको सिफारिश आवश्यक पर्ने व्यवस्थामा सुधार गरी उद्योगीलाई नै जिम्मेवार बनाउने व्यवस्था गरिएको जनाएको छ ।