टेलिकमको पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच नेटवर्कमा स्तरोन्नति
काठमाडौँ । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटन अन्तर्गत पाटन र सैंवुमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा पूूर्ण रुपमा स्तरोन्नति गरेको छ ।
शुक्रबार दूरसञ्चार कार्यालय, पाटनमा आयोजित एक कार्यक्रममा प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पुरानो कपर प्रविधिमार्फत सञ्चालित सेवा बन्द गरिन् ।
सो अवसरमा प्रबन्ध निर्देशक पहाडीले पुरानो कपर प्रविधिलाई आधुनिक फाइबर प्रविधिमा रुपान्तरण गर्ने कार्य कम्पनीको प्रगतिको कदम भएको उल्लेख गर्दै यस कार्यका लागि अथक प्रयास र प्रयत्न गर्ने सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरिन् । साथै उनले नेपाल टेलिकम पुरानो प्रविधिलाई विस्थापित गरी नयाँ प्रविधि भित्र्याउने लक्ष्य प्राप्तिमा लागेकोे समेत बताइन् ।
कार्यक्रममा कम्पनीका प्रमुख सञ्चालन अधिकृत तथा प्रमुख प्राविधिक अधिकृत झविन्द्र लाल उपाध्याय, बागमती प्रादेशिक निर्देशनालयकी निर्देशक रिना डंगोल र दूरसञ्चार कार्यालय, पाटनका कार्यालय प्रमुख निरज न्यौपाने लगायत विभिन्न वक्ताहरुले कम्पनीले समयक्रम अनुसार नयाँ प्रविधि अवलम्बन गर्ने क्रममा कम्पनीको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका पुरानो प्रविधि विस्थापित गरिरहेको बताए । उनीहरुले कम्पनीले आधुनिक प्रविधिलाई सदैव आत्मसात गर्ने कार्यलाई जारी राख्ने बताए ।