कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रको गम्भीर ध्यानाकर्षण
काठमाडौं । सञ्चार उद्यमी कैलाश सिरोहिया पक्राउप्रति निजी क्षेत्रले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्नेमा स्पष्ट रहेकोे बताउँदै कुनै पनि विषयमा उजुरी परेकै भरमा पक्राउ नै गरिहाल्ने र थुन्ने जस्ता कार्यले सकारात्मक सन्देश नजाने र उद्यमी व्यवसायी तथा लगानीकर्ताको मनोबल थप घट्नेतर्पm ध्यानाकर्षण गराएको छ ।
निजी क्षेत्रका संगठनहरुले उजुरीकै भरमा उद्यमी, व्यवसायी वा जो कोहीलाई थुनिहाल्ने नभएर राज्यले उनीहरुका कुरा सुनिदिनुपर्छ भन्ने आग्रह रहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । विगतदेखि नै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले उजुरी पर्दैमा वा आरोप लाग्दैमा थुन्ने नभई सुनुवाईको मौका दिनुपर्ने भन्दै आइरहेको उनीहरुको भनाई छ ।
थुनेपछि मात्रै सुन्ने प्रवृत्तिले समग्र क्षेत्रमा नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउनेतर्फ राज्य अगाडि बढ्न आग्रह गरेका छन् । मुलुक अहिले आर्थिक संकटको अवस्थाबाट माथि उठिसकेको छैन ।
अर्थतन्त्र सुधारका लागि भर्खरै लगानी सम्मेलन गरी नेपालमा अनुकुल वातावरण रहेकाले लगानी गर्न स्वदेश तथा विदेशका सबै लगानीकर्ताहरुलाई आग्रह पनि गरिएको अवस्थामा कतैबाट पनि व्यावसायिक वातावरण खल्बलिन दिनु नहुने निजी क्षेत्रको भनाई छ । अहिले देशभित्रका सानादेखि ठूला व्यवसायीलाई प्रोत्साहन तथा हौसलाको आवश्यकता रहेको र उद्योगी व्यवसायी एवं लगानीकर्तालाई सरकारले अभिभावकत्व प्रदान गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।