नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नागरिकलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्न, उनीहरुका समस्या र गुनासोप्रति बेलैमा ध्यान दिन र शान्ति–सुरक्षाको प्रबन्ध तथा नागरिक अधिकारविरुद्ध हुने गतिविधि तत्काल नियन्त्रण गर्न निर्देशन दिएका छन् ।
वागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज हेटौंडामा सम्बोध गर्दै मन्त्री लामिछानेले गोष्ठीका निश्कर्ष र योजना अक्षरश पालना गर्दै नागरिकलाई तत्काल परिवर्तनको आभाष दिने गरी काम गर्न जिल्ला सुरक्षा समितिका सदस्यहरुलाई निर्देशन दिएका हुन ।
‘राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन भने उनीहरुमा स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ’ मन्त्री लामिछानेले भने– ‘आक्रोशले जन्माउने अराजक गतिविधिले सुरक्षा चिन्ता बढाउने भएकाले नागरिकमैत्री सेवा र सुधारमा जोड दिनुहोला ।’
आम नागरिकलाई सरकारी कार्यालयको क्षेत्राधिकारसँग मतलब नहुने भन्दै मन्त्री लामिछानेले एउटा कार्यालयले अर्कोमा हुने कामको समेत समन्वय र सहजीकरण गरिदिनुपर्नेमा जोड दिए ।
आफूले गृह मन्त्रालयको नेतृत्व सम्हालेयताको दुई महिनामा राजस्व चुहावट नियन्त्रण, सरकारी⁄सार्वजनिक जग्गाको संरक्षण, कर्मचारीका गैर–व्यवसायीक आचरणजस्ता सुशासनका सूचकमा केही सुधार आएको भन्दै मन्त्री लामिछानेले नीतिगत सुधारमा समेत पर्याप्त ध्यान दिइएको बताए । प्रहरी समायोजन, सुरक्षा सुदृढिकरण, विपद् व्यवस्थापन, लागू औषध नियन्त्रणजस्ता क्षेत्रमा विशेष चासोका साथ दीर्घकालीन महत्वका काम भइरहेको उनको भनाइ थियो ।
नागरिकलाई पूर्ण सुरक्षाको अनुभूत हुने गरी काम गर्न निर्देशन दिएका मन्त्री लामिछानेले सुरक्षा अधिकारीले गलत प्रवृत्ति र पात्रसँग सम्झौता गरेको पाइए निर्मम हुने चेतावनी पनि दिए । ‘कानून कार्यान्वयन गर्ने अधिकार तपाईंहरुसँगै छ। निर्देशन चाहिन्न। तर, नियतबस् अधिकार दुरुपयोग गरेको पाइए कारबाही हुन्छ’ मन्त्री लामिछानेले भने ।
नागरिकलाई लोकतन्त्रको लाभ लिनबाट बञ्चित गर्ने कुनै पनि गतिविधि नियन्त्रणमा निर्मम हुन निर्देशन दिनुभएका मन्त्री लामिछानेले कारागार सुधार र विपद् व्यवस्थापनमा प्रदेश सरकारसँग थप सहकार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
हिजो र आज भएको गोष्ठीमा गृह मन्त्रालयका उच्च अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित वागमती प्रदेशका सबै जिल्लाका सुरक्षा अधिकारी सहभागी थिए ।