संसद्का गतिविधि सौहार्द भएनन् भने अध्यादेशबाट अघि बढ्ने परिस्थिति आउन सक्छ׃ सभामुख घिमिरे
काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्लाई सौहार्दपूर्ण वातावरणमा चलाउनुपर्ने बताएका छन् । पछिल्लो समय संसद्मा देखिएको गतिरोधतर्फ संकेत गर्दै सभामुख घिमिरेले जनताको अभिमत राख्ने थलोलाई बन्धक बनाएर राख्न नहुुने बताए ।
‘संसद् बन्धक बनिरहेको छ । जनताको कुरा उठेको छैन । अब सधैँ यस्तै रहन हुँदैन’, सभामुख घिमिरिले भने ।
शनिबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशन तथा चौंथो साधारणसभालाई सम्बोधन गर्दै सभामुख घिमिरिले संसद् सौहार्दपूर्ण वातावरणमा चलेन भने अध्यादेशमार्फत् अघि बढ्ने परिस्थिति आउन सक्ने समेत बताए ।
संसद्को गतिरोध समाधानका लागि कसरी निष्कर्षमा पुग्न सकिन्छ भनेर धेरै कोसिस हुँदाहुँदै पनि यदि सौहार्दपूर्ण ढंगबाट संसद्का गतिविधि अघि बढ्न सकेनन् भने संसद्का गतिविधि रोकिन पुुग्ने उनको भनाइ छ ।
‘संसद्का गतिविधि रोकिए भने हामीले गर्नैपर्ने थुप्रै कामहरु, निकट आइरहेको बजेट, त्यो पारित गर्ने कुरा, बजेटसँग सम्बन्धित वा यस्तै थुप्रै कुुराहरु, अझ अहिले त सरकारकै बहुमत छ कि छैन भन्ने प्रश्न उठिरहेका बेलामा सरकारले ७ गतेलाई बहुमत देखाउँछु भनेर तिथिमिति तोकेको बेला छ’, सभामुख घिमिरेले भने, ‘यस्तो बेलामा संसद् अवरोध भयो, चलेन भने के परिणाम आउँछ ? निश्चय पनि त्यतिबेला संसद्लाई अन्त्य गरेर अध्यादेशको माध्यमबाट त्यस्ता कतिपय बाटाहरु खोल्नुपर्ने परिस्थिति आउँछ । अहिलेकै अवस्थामा हामी त्यो बाटोमा गयौं भने हामीले प्रजातन्त्रलाई कसरी उपयोग ग¥यौं? यी कुराहरु मलाई लाग्छ आज सबैका बहस विषय हुन् । छलफलका विषयहरु हुन् ।’
महासंघको अधिवेशन १० बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । यस्तो छ अधिवेशनले जारी गरेको घोषणापत्र ׃
१. पत्रकारबिनाको सञ्चार गृह र सञ्चार गृहबिनाको पत्रकारको कल्पना गर्न सकिँदैन । तसर्थ, आर्थिक संकुचनका कारण संकटग्रस्त बन्दै गएका सञ्चार प्रतिष्ठानलाई केही हदसम्म भएपनि जीवनदान हुने सरकारी विज्ञापनवापतको शुल्कमा रहेको विचौलियापना अन्त्य गर्नेगरी काम गर्न र श्रमजीवी पत्रकारहरुलाई निर्धक्क र भयरहित वातावरणमा काम गर्ने अवस्थाको निर्माण गर्न सम्बन्धित सबै पक्षलाई यो अधिवेशन आह्वान गर्दछ ।
२. सूचना प्रविधिको विकासले ल्याएको चुनौतीलाई मध्यनजर गर्दै लेख्न जान्ने पत्रकारलाई बोल्न र खिच्न, खिच्न जान्नेलाई लेख्न र बोल्न अनि बोल्न मात्र जान्नेलाई लेख्न र खिच्न पनि जान्ने बनाउनेगरी अभियान सञ्चालन गर्न यो अधिवेशन महासंघ केन्द्र र सम्बद्ध सबै पक्षलाई हार्दिक अपिल गर्दछ ।
३. श्रमको मुद्दालाई परम्परागत ढंगले मात्र समाधान गर्न सकिंँदैन । अब श्रमको समस्या समाधानका लागि दीर्घकालीन (कानुन निर्माण) रुपमै समाधान खोज्नुपर्छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारमाध्यमलाई राज्यले दिने सेवासुविधा मात्र होइन, सरकारी विज्ञापन प्रकाशन÷पसारणका लागि उपलब्ध नगराउनेदेखि कालोसूचीमा नै राख्ने गरी कानुन निर्माणका लागि आवश्यक पहल गर्न यो अधिवेशन केन्द्रीय समितिलाई आग्रह गर्दछ ।
४. धेरै प्रतिष्ठानहरुमा अझै पनि श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन भएको अवस्था छैन । जहाँ कार्यरत श्रमजीवी पत्रकारहरुले लामो समयदेखि पारिश्रमिक तथा सेवासुविधा नपाएकोप्रति दुःख व्यक्त गर्दै उहाँहरुको पारिश्रमिक र सेवासुविधा तत्काल उपलब्ध गराउन तथा ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न÷गराउनका लागि यो अधिवेशन माग गर्दछ ।
५. न्यूनतम पारिश्रमिक र नियुक्ति पत्र नपाएका कारण सञ्चार प्रतिष्ठानमा कार्यरत पत्रकारहरू पत्रकार परिचयपत्र (सूचना तथा प्रसारण विभागले जारी गरेको प्रेस पास) बाट बञ्चित रहेका छन् । प्रेस पासकै अभावमा निर्वाध रूपमा समाचार संकलन गर्नमा कठिनाइ छ । यो समस्याप्रति प्रतिष्ठान प्रदेश समितिले निरन्तर खबरदारी गर्दै आएको स्मरण गर्दै प्रेस पासको सहज उपलब्धताको यो अधिवेशन माग गर्दछ ।
६. धेरै सञ्चार प्रतिष्ठानमा सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष वा यस्ता कल्याणकारी कोषको व्यवस्था पूर्णतया कार्यान्वयनमा नरहेकाले नीतिगतरूपमै त्यस्ता कोषमा आबद्धता गर्ने व्यवस्था गर्न यो अधिवेशन माग गर्दछ ।
७. अरुका विषयमा लेख्ने, बोल्ने पत्रकारहरुको आफ्नै अभिलेख व्यस्थित गर्न सकिएको छैन । त्यसैले सबै पत्रकारहरुको अभिलेख र दस्तावेजीकरणमा ध्यान दिन सम्बद्ध सबै पक्षसँग आह्वान गर्दछ ।
८. श्रमजीवि पत्रकार ऐन अनुसार प्रतिष्ठानमा आवद्ध पत्रकारहरूलाई बिदा सुविधा पूर्णतः प्राप्त गर्न सकेका छैनन् । बिदा नबसेवापत अतिरिक्त सेवा सुविधा हुने स्थिति समेत नरहेको पाइन्छ । साथै, पत्रकार महिलाको हकमा महिनावारी, सुत्केरी, शिशु स्याहार सुविधामा समेत समस्या छ । यसैकारण अधिकांश पत्रकारहरूले काम नै छोड्नुपर्ने बाध्यता छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को व्यवस्था र सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन बमोजिम सुत्केरी बिदा कम्तिमा ९८ दिन, शिशु स्याहार केन्द्र र आराम कक्षको व्यवस्था हुनुपर्छ । त्यसैले यो व्यवस्था कार्यान्वयन गर्दै कार्यालयलाई लैंगिकमैत्री बनाउनका लागि यो अधिवेशन सबै सञ्चार प्रतिष्ठानसँग जोडदार माग गर्दछ ।
९. कानुन निर्माणका क्रममा रहेका मिडियासम्बन्धी विभिन्न विधेयकहरुलाई पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता हुनेगरी मिडियामैत्री बनाउन यो अधिवेशन तीनै तहका सरकारसँग जोडदार माग गर्दछ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुनेगरी कुनै पनि नीति तथा क्रियाकलाप नगर्न माग गर्दछ ।
१०. नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशको दोस्रो अधिवेशनको समुद्घाटन समारोहमा प्रमुख अतिथिका रुपमा हाम्रो निम्तोलाई स्वीकार गरी उपस्थित सम्माननीय सभामुख देवराज घिमिरे, पूर्वसञ्चारमन्त्री डा. मीनेन्द्र रिजाल, प्राध्यापक रामकृष्ण रेग्मी र अग्रज पत्रकार युवराज घिमिरे, महासंघका केन्द्रीय अध्यक्ष एवं पदाधिकारी, पूर्वअध्यक्षहरु, पत्रकारसम्बद्ध विभिन्न संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरूका साथै प्रतिष्ठान शाखाका अध्यक्ष एवं पदाधिकारी, प्रदेश परिषद् सदस्यहरु, कार्यक्रम गर्नका लागि हल उपलब्ध गराउने राष्ट्रिय समाचार समिति र संयोजन गर्ने रासस प्रतिष्ठान शाखालगायत सबैलाई यो अधिवेशन धन्यवाद ज्ञापन गर्दछ ।