परिवारसँग जोडेर सुनियोजित रुपमा म विरुद्ध समाचार प्रकाशित भए : कुलमान घिसिङ
काठमाडौँ ।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विगत केही दिनदेखि केही सञ्चार माध्यमबाट सुनियोजित रुपमा निरन्तर समाचार सम्प्रेषण र सोही समाचारका आधारमा सामाजिक सञ्जालमा टिकाटिप्पणी भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
उनले आज विज्ञप्ति जारी गरी भनेका छन्, ‘पत्रकारिताको सिद्धान्त, मूल्य र आचारसंहिताको उल्लङ्घन गर्दै मेरो र मेरो परिवारका सदस्यहरू (मुख्य रुपमा दाइ र भाइ) को चरित्र हत्या, मानप्रतिष्ठा र छविमा आघात पुर्याउने उद्देश्यले सुनियोजितरुपमा दूषित मनसायका साथ कपोकल्पित ढङ्गले भ्रमपूर्ण रुपमा समाचारहरु सम्प्रेषण गरिएका छन् ।’
निष्ठासाथआफ्नो जिम्मेवारी पूरा गरिरहेको व्यक्तिलाई हतोत्साहित बनाउन सुनियोजित रुपमा निहीत स्वार्थका साथ यस्ता समाचारहरू सम्प्रेषण भइरहेको उनले दावी गरेका छन्।
‘अंशवण्डा गरी लामो समयदेखि छुट्टै बसिरहेका दाइ र भाइले नेपालको संविधान र ऐन कानुनले दिएको हकअधिकार प्रयोग गरी स्वतन्त्र रुपमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेका उनले बताएका छन्। के मेरा दाइ र भाइले स्वदेशमै व्यापार व्यवसाय नगरी विदेशिनु पर्ने हो ?” उनले जारी गरेको विज्ञिप्तमा भनिएको छ।’
आफ्नो पदीय दुरुपयोग गरी मेरा दाइ र भाइले सञ्चालन गरिरहेको व्यापार व्यवसायलाई फाइदा पुग्ने कुनै पनि कार्य नगरेको पनि जिकिर गरेका छन्। उनले बद्नाम गराउने दुराशयकासाथ आरोप लगाइएको उल्लेख गरेका छन् ।
उनले नेपाली जनतालाई सधैँ लोडसेडिङको अँध्यारोमा राख्न चाहने र त्यसबाट फाइदा लिन पल्किएको, नेपाल विद्युत प्राधिकरणको कारबाहीबाट त्रसित र संस्थाले हासिल गरेका प्रगति एवम् उपलब्धिबाट अत्तालिएको स्वार्थ समूह कमजोर बनाउन लागेको पनि दावी गरेका छन्।
‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरीय, पर्याप्त र सुरक्षित विद्युत आपूर्ति गर्ने, संस्थालाई वित्तीय रुपमा सबल एवम् सक्षम बनाउने, विद्युत, उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार संरचनाहरुको विकास तथा विस्तार गरी ऊर्जामा मुलुकलाई आत्मनिर्भर बनाउँदै छिमेकी देशहरुसँगको विद्युत व्यापार विस्तार गर्नेबाहेक अन्य कुनै आफ्ना व्यक्तिगत नाजायज स्वार्थ नरहेको प्रष्ट पार्दछु’, उनले भनेका छन्।