नेपाल घुम्न आउने पर्यटक बढे, पछिल्लो ४ महिनामै ४ लाख १६ हजार बढी भित्रिए
काठमाडौं । नेपाल पर्यटन बोर्डका अनुसार नेपालमा सन् २०२४ को चौथो महिना (अप्रील) मा १ लाख ११ हजार ३७६ जना पर्यटक भित्रिएका छन् । यो गत वर्षको यही अवधिको भन्दा १२.७५ प्रतिशतले धेरै हो । यसअघि सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक भित्रिएका थिए ।
अप्रिलमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन् । भारतबाट सो अवधिमा सबैभन्दा धेरै ३० हजार १५८ पर्यटक नेपाल आएका छन् । यस्तै, अमेरिकाबाट ९ हजार ९४७, चिनबाट ९ हजार ७५० र बेलायतबाट ५ हजार ३९१ जना पर्यटक नेपाल आएका छन् ।
बोर्डका अनुसार सो अवधिमा अष्ट्रेलियाबाट ४ हजार ११०, बंगलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७५५, जर्मनीबाट ३ हजार २७० र रसियाबाट २ हजार ९७७ जना पर्यटक नेपाल आएका छन् ।
यस वर्षको जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६ र मार्चमा १ लाख २८ हजार १६७ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए । यो सँगै सन् २०२४ को पहिलो ४ महिनामा ४ लाख १६ हजार ६९ जना पर्यटक नेपाल भित्रिएका छन् ।