‘लुम्बिनी र पोखराबाट पनि उडान सञ्चालन गरौँ’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरेका छन् । द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ र दोहाबीच प्रभावकारी एवं पर्याप्त हवाइ यातायात भएको उल्लेख गर्दै त्यस्तो अनुरोध गरेका हुन ।
“कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्ने बारेमा विचार गर्न अनुरोध गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भने ।
नेपाल र कतारबीच धेरै सम्झौता तथा समझदारीपत्रहरु (एमओयु) सम्पन्न भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले समयको मागसँगै दुबै देशहरूबीच भएका सम्झौता तथा समझदारीहरू परिमार्जन तथा अद्यावधिक गर्दै लैजानुपर्नेमा जोड दिए ।
‘आप्रवासी श्रमिक द्विपक्षीय सम्बन्धका सूत्र’
प्रधानमन्त्री प्रचण्डले कतारमा कार्यरत करीब ४ लाख नेपालीहरू द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण सूत्र भएको बताएका छन् । उनले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिकहरु पठाउनका लागि नेपालमा व्यावसायिक तालीम र सीपविकास केन्द्रहरू स्थापना गर्न लागिएकाले त्यसमा सहयोग गर्न आग्रह गरे ।
नेपाली श्रमिकको सुरक्षाबारे चासो राख्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल आफ्ना नागरिकहरूका लागि सुरक्षित तथा सम्मानित वैदेशिक रोजगारी सुनिश्चत गर्नका लागि प्रतिबद्ध छ र यससँग सम्बन्धित समस्याहरूलाई संवाद तथा कूटनीतिक माध्यमबाट समाधान गर्न चाहन्छ ।”
‘आर्थिक विकास नेपालको प्राथमिकता’
प्रधानमन्त्री प्रचण्डले आर्थिक विकास नेपालको प्राथमिकता भएको उल्लेख गर्दै सन् २०२६ मा अतिकम विकशित मुलुकको स्तरबाट स्तरोन्नतिलगायतका विकासका आकांक्षाहरू पूरा गर्नका लागि मित्रराष्ट्र तथा विकास साझेदारहरूबाट निरन्तर सहयोगको अपेक्षा गरेको बताए ।
प्रधानमन्त्री प्रचण्डले जलविद्युत् उत्पादन, अस्पताल तथा स्वास्थ्य संस्थाहरु वा अन्तराष्ट्रिय स्तरका क्रिकेट तथा फुटबल रङ्गशालाजस्ता ठूला पूर्वाधार परियोजनाहरूको विकासका लागि कतार सरकारबाट अनुदान प्राप्त हुने विश्वास व्यक्त गरे ।
विपिन जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह
प्रधानमन्त्री प्रचण्डले इजरायलमा हमासको आक्रमणमा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुसल रिहाइका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
“आफ्नो शैक्षिक इन्टर्नशीपको लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् बेपत्ता छन् र उनको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकार समक्ष पुनः अनुरोध गर्न चाहन्छु ।”
प्रधानमन्त्री प्रचण्डले थप भने, “यस विषयमा महामहिमको व्यक्तिगत ध्यानाकर्षणका लागि अनुरोध गर्दछु ।”
पश्चिम एसियामा बिग्रिँदै गएको परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै उनले जतिसक्दो चाडो युद्ध अन्त्य भएर शान्ति पुन׃स्थापना होस् भन्ने कामना गरे ।