‘लगानीका लागि नेपाल विश्वकै आकर्षक गन्तव्य’
काठमाडौं । नेपाल लगानीकर्ताका लागि विश्वकै सर्वाधिक आकर्षक ठाउँमध्येको एक भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृषि, खानी, ऊर्जा र जलविद्युत्, पूर्वाधार विकास, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा तथा सत्कार क्षेत्रहरू वैदेशिक लगानीका लागि उपयुक्त रहेको जानकारी गराए ।
उनले भने, “नेपालमा शुद्ध पिउने पानीको पर्याप्त श्रोत भएकाले विश्व बजारमा बोतलबन्द पिउने पानी वितरण गर्न सकिने प्रचूर सम्भावना छ ।”
नेपालले लगानीमैत्री वातावरण सुनिश्चित गर्दै लगेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले छिट्टै नेपालमा हुन लागेको लगानी सम्मेलनमा कतारबाट उच्चस्तरीय प्रतिनिधिमण्डल तथा लगानीकर्ताहरूको टोली नेपाल आउने अपेक्षा रहेको बताए ।
भौगोलिक विविधताका कारण नेपाल अर्गानिक कृषि उत्पादनका लागि उपयुक्त ठाउँ भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रमा लगानीका लागि कतारी लगानीकर्तालाई प्रोत्साहित गरिने बताए ।
नेपाल विश्व पर्यटनको आकर्षणको केन्द्र रहँदै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “नेपालको पर्यटन पूर्वाधारको विकासमा गरेको अन्तर्राष्ट्रिय लगानी खेर जाने छैन ।” उनले सन् २०१३ को मेमा शेख मोहम्मद बिन अब्दुल्लाह अल थानीले गर्नुभएको सगरमाथाको सफल आरोहणले विश्वमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले कतार पर्यटन प्राधिकरणको बाह्य पर्यटन गन्तव्यको सूचिमा नेपाललाई समावेश गर्न आग्रह गरे ।