डलरको भाउ हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । अमेरिकी डलरको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै, खरिददर पनि १३३ रुपैयाँ ३६ पैसा कायम भएको छ । यसअघि हिजो मंगलबार वैशाख ४ गते १ डलरको भाउ (बिक्रीदर) १३३ रुपैयाँ ८३ पैसा कायम भएर नयाँ रेकर्ड कायम गरेको थियो । यस्तै, खरिददर पनि १३३ रुपैयाँ २३ पैसा कायम भएको थियो । आज उक्त रेकर्ड ब्रेक भएको हो ।
पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ (भारु) पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । आयातमुखी अर्थतन्त्र भएकाले डलरको भाउ बढ्दा नेपाललाई समग्रमा घाटा बढी पर्छ । निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।