बालबालिकाको मस्तिष्क तथा शारीरिक विकासका लागि न्यूट्रिसन तथा मनोवैज्ञानिक तालिम सम्पन्न !
ललितपुर । राम्रो पोषण नपाएको अवस्थामा साना बालबालिकाहरू उच्च जोखिममा पर्न सक्छन् । खासगरी मस्तिष्क विकासको मुख्य समय भएकोले पूर्व प्राथमिक विद्यालयका बालबालिकाहरूलाई संवेदनशील भई उत्तम आहार तथा आहार चयन सम्बन्धी व्यवहारमा सहयोग गर्न अति आवश्यक हुन्छ।सुनौलो हजार दिन जसमा बच्चा पेटमा भएदेखि नै गिन्ती हुन्छ , यस अवस्थामा बच्चालाई कस्तो आहारा आवश्यक हुन्छ र आहार नपुगेको खण्डमा कस्ता समस्याहरू देखिन सक्छन् आदि विषयको जानकारी शिक्षक तथा अभिभावकहरूमा पुग्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। दुई वर्षसम्ममा बालबालिकाको ८०% मस्तिष्क विकास भइसकेको हुन्छ यस्तो अवस्थामा आहारको विषयलाई लिएर हेलचेक्राई गर्नु जोखिमलाई निम्त्याउने कार्य हुन सक्छ।
काठमाडौँ ललितपुर र कीर्तिपुर गरी ६० भन्दा बढी शिक्षकहरूले भाग लिएको उक्त कार्यक्रमलाई सफल बनाउनका निमित्त अपेन ललितपुरका अध्यक्ष तथा किड्जी सानेपा का प्रिन्सिपल मुना श्रेष्ठ र अपेन काठमाडौँका अध्यक्ष तथा स्प्रिङ् भिल प्रिस्कुलका प्रिन्सिपल तिलक मानन्धरले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । व्यवहार मनोविज्ञान तथा न्युट्रिसनमा आधारित भएर उक्त कार्यक्रममा नेपाल एकेडेमी अफ साइकोलोजीका मुख्य वक्ता द्वय मनोविद उमङ्ग जङ्ग शाह तथा न्युट्रिसनिस्ट कविता दाहालले आफ्ना प्राज्ञिक विषयवस्तु प्रस्तुत गरेका थिए।