आज काठमाडौंसहित पहाडी जिल्लाहरुमा होली मनाइँदै

काठमाडौं । आज फागु अर्थात होली पर्व, देशका पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावकासाथ विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।
पर्वका अवसरमा आज काठमाडौँको वसन्तपुरमा रङ्गीचङ्गी बनाइ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टँडिखेलमा लगेर जलाउँने परम्परा छ । उक्त चीरमा राखिएका ध्वजापताकाहरू औषधोपचारको काममा प्रयोगमा आउने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने चलन छ ।
केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व पछिल्लो समय सभ्य बन्न थालेको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रममा कमी आएको छ ।
होली पर्वको अवसरमा आज सरकारले पहाड र हिमाली जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।
तराईका जिल्लाहरुमा भने होली पर्व भोलि मनाइँदैछ । यसैबिच होली पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्ग, प्रधानमन्त्री पुष्पकमल दाहाल तथा दलका नेताहरुले शुभकामना ब्यक्त गरेका छन् ।