व्यवसायी त्रसित नभई ढुक्क भएर लगानी गर्दा हुन्छ : प्रधानमन्त्री
कास्की । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनुशासन, प्रशासनिक खर्चमा मितव्ययिता, उत्पादकत्व वृद्धि र राजस्व चुहावटमा स्थायी नियन्त्रणबाट राष्ट्रको आर्थिक जीवनलाई अझ बलियो बनाउन सरकार लागिरहेको बताएका छन् ।
बाह्रखरी मिडियाले आयोजना गरेको ‘आमन्त्रण गल्फ प्रतियोगिता’ को समापन समारोहमा पुगेका प्रधानमन्त्री दाहालले नेपालमा छिटोछिटो सरकार परिवर्तन हुने व्यवस्था रहे पनि विकास निर्माण र समृद्धिको यात्रामा कसैलाई पनि अवरोध गर्न नदिइने बताए ।
यस्तै, प्रधानमन्त्री दाहालले व्यवसायीलाई त्रसित नभइ ढुक्क भएर लगानी गर्नसमेत आग्रह गरेका छन् । उनले नेपालमा केही छैन, केही हुँदैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा पनि जोड दिए ।
‘देशमा लगानीको वातावरण बनेको छ । व्यापार, व्यवसायको अझ राम्रो वातावरण निर्माणका लागि सरकार यहाँहरूसँग सहकार्य गर्न तयार छ,’ प्रधानमन्त्री दाहालले भने, ‘पछिल्लो सत्तासहकार्य फेरिएसँगै मैले गृहमन्त्री र अर्थमन्त्रीलाई राखेर व्यवसायीलाई काम गर्ने वातावरण बनाउन र अनावश्यक दुःख नदिन भनेको छु । नियम र कानुन पालना गरेर काम गरिरहेका कुनै पनि व्यवसायीले त्रसित हुनु पर्दैन, ढुक्क भएर लगानी गर्दा हुन्छ ।’
देशका विभिन्न स्थानबाट सिधै पोखरा आउन हवाइमार्ग अहिले पहिलेभन्दा सहज भएको भन्दै उनले अब यसलाई पनि विस्तार गरेर झापा, विराटनगर, चितवन, भैरहवा, नेपालगन्ज र धनगढीबाट नियमित उडानका निम्ति सरकारले वातावरण बनाउने उल्लेख गरे । उनले मुग्लिनदेखि पोखरा सडकखण्डको अवस्थाबारे पनि पटकपटक जानकारी लिएको बताए । निर्माण कार्यलार्ई तीव्र बनाउन अझै कडा ढंगले निर्देशन दिने पनि उनको भनाइ थियो ।
अन्तर्राष्ट्रियस्तरको पोखरा विमानस्थल बनेर पनि सञ्चालनमा आउन नसकेको व्यवसायीको चिन्ता रहेको आफूलाई जानकारी भएको उनले उल्लेख गरे । हवाई सञ्चालनका विषयमा निजी क्षेत्रले देखाएको चासो सम्बोधनका लागि पहल गर्ने उनले विश्वास दिलाए ।