भष्ट्राचार गरेको प्रमाण ल्याउनुस २४ घण्टा भित्र कारवाही गर्छु׃ श्रम मन्त्री अर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले भष्ट्राचार गरेको प्रमाण ल्याएमा २४ घण्टा भित्रै कारवाही गरिने बताएका छन् ।
शुक्रबार कोरिया रिटर्नीहरुसँग छलफल गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन । श्रमिकलाई कुनै पनि बहानामा कसैले ठगी गरेमा तत्काल कारवाही गरिने उनले बताए । त्यस्तै, कोरिया रिटर्नीहरुको समस्या सम्बोधनका लागि फास्ट ट्रयाकमा प्रक्रिया अगाडी बढाईने समेत उनले बताए।
‘तपाईहरुको समस्याको बिषयमा सम्बन्धित निकायहरुसँग बसेर छलफल गर्नेछु । आवश्यक परेमा तपाईहरुलाई नै राखेर छलफल गराउँने छ,’ उनले बताए । कोरिया रिटर्नीहरुले कोरिया जाने श्रमिकहरु ईपिएसका कर्मचारीबाट ठगिएको गुनासो गरेका थिए ।
त्यस्तै, उनीहरुले रोष्टरमा रहेका रिटर्नी तथा महिलाहरुको फाईल कोरियाको रोजगार दातासम्म पुराउन पर्ने, गत असार १० गते ईपिएस नेपाल रिटर्नीहरु सँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने, साउन १२ गते ईपिएस नेपाल र रिटर्नीहरु बिच भएको सम्झौता पनि कार्यान्वयन गर्नुपर्ने, इपिएस नेपालको ज्यादति र लुटतन्त्रलाई सुधार गराउनुपर्ने माग राखेका थिए ।