नेपालमा कार्यरत भारतीय नागरिकले पनि अब ‘क्यूआर’ मार्फत रकम पठाउन सक्ने
काठमाडौं । नेपालमा कार्यरत भारतीय नागरिकले पनि ‘क्यूआर’ मार्फत रकम पठाउन सक्ने भएका छन् । केन्द्रीय बैंकले शुक्रबार एकीकृत निर्देशनमा संशोधन गर्दै प्रतिदिन १५ हजार भारतीय रुपैयाँ (भारु) र प्रतिमहिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिक बापत सटही सुविधा बैंकहरुले प्रदान गर्न जनाएको छ ।
‘नेपालमा कार्यरत भारतीय नागरिकले नेपाली वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका विकास बैंकमा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ (ई–बैंकिङ), अन्तरबैंक भुक्तानी, मोबाइल बैंकिङ, क्यूआर कोडमार्फत ‘नेसनल पेमेन्ट स्वीच’ का माध्यमबाट भारतीय बैंक तथा वित्तीय संस्थामा खोलिएको व्यक्तिगत खातामा १५ हजार भारतीय रुपैयाँ (भारु) र प्रतिमहिना १ लाख भारु जम्मा हुने गरी पारिश्रमिक बापत सटही सुविधा प्रदान गर्न सकिने छ’ संशोधित निर्देशनमा उल्लेख छ ।
यस्तो सटही सुविधामा राष्ट्र बैंकको निर्देशन अनुसार स्वेदशमा खोलिने परिवत्र्य विदेशी मुद्रा खाता र सञ्चालन सम्बन्धी व्यवस्था पालना गरेको हुनुपर्नेछ । यस्तै विदेशमा विदेशी मुद्राको खाता खोल्ने र सञ्चालन गर्ने सम्बन्धी राष्ट्र बैंकले तोकेको सर्त पूरा भएको हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।