८ महिनामा सरकारले उठायो ६ खर्ब ३९ अर्ब राजस्व
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिना सम्ममा सरकारी वित्त घाटामा रहेको छ । यो अवधिसम्म सरकारको आम्दानीभन्दा खर्च धेरै भएकाले कुल सरकारी वित्त घाटामा रहेको विश्लेषण गरिएको हो । फागुनसम्ममा सरकारले कुल ६ खर्ब ३९ अर्ब रुपैयाँ राजस्व उठाएको छ ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षका लागि लिइएको राजस्व लक्ष्य अहिलेसम्ममा ४४.९२ प्रतिशत उठेको हो । बजेटमार्फत सरकारले चालु आर्थिक वर्ष कुल १४ खर्ब २२ अर्ब रुपैयाँ बराबर राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
फागुनसम्ममा सरकारको अन्य आम्दानीसहित कुल आम्दानी ६ खर्ब ६३ अर्ब रुपैयाँ छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको खर्च भने ८ खर्ब १ अर्ब भएको छ । चालु आर्थिक वर्षमा सरकारले लिएको कुल खर्च लक्ष्यमध्ये अहिलेसम्मको खर्च ४५.७७ प्रतिशत हो ।
यता, यो अवधिमा कुल वार्षिक लक्ष्यको २६.८९ प्रतिशत पुँजीगत खर्च भएको छ भने ५०.९८ प्रतिशत चालुगत खर्च भएको छ । सरकारले चालु आर्थिक वर्ष कुल ३ खर्ब २ अर्ब पुँजीगत खर्चको लक्ष्य लिएको छ भने चालु खर्च ११ खर्ब ४१ अर्बको अनुमान छ ।
त्यस्तै, वित्तीय खर्च ३ खर्ब ७ अर्ब हुने अनुमान रहेकोमा अहिलेसम्म महिनामा ४४.९७ प्रतिशत वित्तीय खर्च भएको भएको छ ।