प्रधानमन्त्री दाहालले आज विश्वासको मत लिँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज संसदमा विश्वासको मत लिने भएका छन् । सत्ता गठबन्धनको सहयात्री दल परिवर्तन गरेपछि दाहालले विश्वासको मत लिन लागेका हुन ।
१४ महिनायता उनले विश्वासको मत लिन थालेको यो तेस्रो पटक हो । यसअघि गत वर्षको पुस २६ मा पहिलो पटक र चैत ६ मा दोस्रो पटक दाहालले विश्वासको मत लिएका थिए ।
विश्वासको मतका लागि सत्ता साझेदार दलहरुले ह्विप जारी गर्ने निर्णय गरिसकेका छन् । प्रधानमन्त्री दाहालले संविधानको धारा १०० (२) अनुसार प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् ।
‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ उक्त धारामा उल्लेख छ ।
कांग्रेसले फागुन २२ मा दाहाल सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो ।